नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले ज्ञापन पत्र बुझायो

गुगलपाटी संवाददाता
३० जेष्ठ २०७६ १३:४९

हेटौंडा : सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले आज अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको छ । देश भरि नै ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि ज्ञापन पत्र बुझाएको हो ।

बजेटमा कपडा तथा सिलाई व्यवसायीले अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता गर्नुपर्ने व्यवस्था गरेको भन्दै आपत्ती जनाएको हो । नेपालको भौगोलिक अवस्था र व्यवसायीको अवस्था हेरेर थ्रेस होल्ड कायम गरेर मात्रै नीति तय गर्नु पर्ने भन्दै महासंघले ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायण सिं थिङले सरकारले ल्याएको निति तत्काल लागू भए धेरैले व्यावसाय बन्द गर्नुपर्ने भएकाले निणर्य सच्चाउन सरकारको ध्यानाकर्षण गरेको र सरकारले साना व्यावसायीको मार्का बुझ्नेमा व्यावसायी विश्वस्त रहेको वताउनु भयो ।