कांग्रेस सांस्कृतिक संघको भेला हेटौंडामा, देउवाले उद्घाटन गर्ने

गुगलपाटी संवाददाता
३० जेष्ठ २०७६ १४:४९

हेटौंडा ; भोली शुक्रबार र पर्सी शनिबार हेटौंडामा नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघको जिल्ला सभापतिहरुको भेला हेटौंडामा हुने भएको छ । भेलामा ७७ वटै जिल्लाका सभापति र विधागत संघका १० जना सभापतिहरु सहितको भेलाको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
संघले भेलाको विषयमा आज हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिंएको छ । स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि सांस्कृतिक संघको सभापतिहरुको भेला आयोजना गरिएको संघका केन्द्रीय सभापति तीर्थबहादुर थापाले जानकारी दिए । भेलामा सभापति देउवासहित महामन्त्री डा. सशांक कोइराला, सह महामन्त्री प्रकाशशरण महत, नेता प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनालगायतका केन्द्रीय नेताहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएको छ । ‘सांस्कृतिक संघका सभापतिहरुको भेलाको तयारी सकिएको छ’, सभापति थापाले भने, ‘संस्कृतिको उत्थान विना राष्ट्रको विकास र समृद्धि सम्भव छैन । यो भेलामार्फत देशव्यापी रुपमा सम्पूर्ण स्रष्टा, संस्कृतिकर्मीको सुरक्षा, सम्मान र पहिचानका लागि मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो ।’ यो राष्ट्रिय प्रशिक्षण भेला भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाका सभापति तथा केन्द्रीय नेतृत्व हेटौंडा आइसकेका छन् ।