प्रदेश ३ मा खेल मैदानको लागि ६८ करोड ४० लाख बजेट

गुगलपाटी संवाददाता
१ असार २०७६ १५:०५

हेटौंडाः प्रदेश ३ मा खेलमैदानको लागि ६८ करोड ४० लाख रुपैयाँ बजेट छुटट्याएको छ । प्रदेश ३ को रंगशाला, कवर्डहल र खेल मैदान निर्माणको लागि ६८ करोड ४० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । साथै प्रदेशभित्र एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेशभित्र ४८ वटा प्रहरी इकाईको भवन निर्माण सम्पन्न गर्न ८२ करोड ६५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । सार्वजनिक निजि साझेदारीमा कार्यक्रम सञ्चालन गर्न १५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
शिक्षातर्फ स्थानीय तहहरुसँगको सहकार्यमा प्रारम्भिक बाल शिक्षकहरुको प्रोत्साहनको लागि ६ करोड ५० लाख,सिन्धुपाल्चोक जिल्लामा बहुप्राविधिक महाविद्यालय स्थापनको लागि ११ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयहरुको भौतिक सवलिकरण र शैक्षिक सुधारको लागि २४ करोड रुपैयाँ,सामुदायिक क्याम्पसहरुको भौतिक सवलिकरणको लागि २३ करोड छुट्याइएको छ । साथै नयाँ आर्थिक वर्षभित्र काठमाण्डौं र काभ्रलाई साक्षर जिल्ला घोषणा गरिने बजेटमा उल्लेख छ । साथै महिलाहरुलाई शिक्षामा आकर्षित गर्न ‘छोरी बुहारी छात्रबृत्ति’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
साथै स्वास्थ्य संस्थाहरुको उपकरण खरिद तथा भौतिक पुर्वाधार विकासको लागि ४१ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । एक निर्वाचन क्षेत्र एक विशिष्टिकृत नुमना कृषि फर्म सञ्चालनको लागि २० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । साथै प्रदेशभित्र उत्पादन भएको दुधमा प्रति लिटर एक रुपैयाँ प्रदेश सरकारले अनुदान दिने भएको छ । त्यसको लागि १२ करोड रुपैयाँ अनुदान छुट्याइएको छ । प्रदेशभित्र छाडा छाडिएका चौपायाहरुको संरक्षण र पालनको लागि काठमाण्डौंको टोखा नगरपालिकासँगको सहकार्यमा काम गरिने भएको छ ।
प्रदेश सरकारले नया आर्थिक वर्षको बजेटमा प्रदेशभित्रको ६५ वटा सामुदायिक बन समुहसँगको सहकार्यमा बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम लागु गरिने भएको छ ।
सन् २०२० देखि सन् २०३० सम्म प्रदेश भ्रमण दशक घोषणा गरिएको छ । एक निर्वाचन क्षेत्रमा एक औद्योगिक क्षेत्र स्थापना गर्दै जानको लागि औद्योगिक करिडोर विस्तृत परियोजना अध्ययन गर्न बजेट ब्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ । आगामी ४ वर्षभित्र प्रदेशभित्र रहेका सबै स्थानीय तहसम्म पुग्ने सडक निर्माण गरिने भएको छ ।