‘भगवान प्रधानमन्त्री’ बन्ने हुन सेनको रहर, ओलीको ‘तिमी र तपाईं’
गुगलपाटी संवाददाता एजेन्सीक्याम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई शुरुताका मिडियाले सामान्य हिसाबले प्रधानमन्त्री हुन सेन मात्रै भन्ने गरेका थिए । तर, सरकारी अधिकारीहरुले सन् २०१६को मे ११ का दिन एउटा ‘फर्मान’ जारी गर्दै मिडियालाई चेतावनी दिए । उनीहरुको वाक्य यही नभएपनि शैली यस्तै थियो, “अबदेखि प्रधानमन्त्री हुन सेन मात्रै भन्न पाइन्न । मिडियामा यस्तो भन्न छोड्नुपर्छ ।”
अमेरिकी समाचार एजेन्सी एसोसिएट्स प्रेस(एपी) ले त्यतिबेला जनाएअनुसार क्याम्बोडियाका अधिकारीहरुले भनेका थिए, “आउँदो अगस्ट महिनापछि सबै मिडियाले पूर्ण सम्मान सहितको उनको टाइटल भन्नुपर्छ ।” अर्थात् यसो भनिनुपर्छ भन्ने निर्देशन दिइएको थियो, ‘‘सामदेच अक्का मोहा सेना पदेइ टेक्चो हुन सेन ।” छापा माध्यम र रेडियो तथा टिभीमा उनको नाम उल्लेख गर्नुअघि त्यस खालको टाइटल राख्नुपर्छ भन्ने निर्देशन दिइएको थियो । त्यसको अंग्रेजीमा भावार्थ हुन्थ्यो, ‘लर्ड प्राइम मिनिस्टर एण्ड सुप्रिम मिलिटरी कमाण्डर ।’
नेपालीमा अर्थ हुन्छ¬ ‘भगवान प्रधानमन्त्री तथा सेनाका सर्वोच्च कमाण्डर ।’ त्यो पदवी उनलाई सन् २००७मा क्याम्बोडियाका राजा नरोदम सिंहामोनीले दिएका थिए । त्यो लागु गर्न त्यहाँको सूचना मन्त्रालयले झण्डै तीन घण्टा पत्रकारहरुसँग बैठक गरेको थियो । सोही अनुसार मार्गनिर्देशन दिइयो । जसले त्यो गर्दैन ऊमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको थियो । तर, त्यो निर्देशन पालना नभएमा कस्तो सजाय हुन्छ भनेर अधिकारीहरुले बताएका थिएनन् ।
कम्बोडियामा विपक्षमाथि खतराको अवस्था उत्पन्न हुँदै आएको छ । निर्वाचन गराउने तर आफ्नै खालका भजन मण्डलीलाई पर्यवेक्षकका रुपमा बोलाएर उनले धाँधली गर्दै आएको अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना हुँदै आएको छ । सरकारले दूरसञ्चारमा नियन्त्रण गर्नुका साथै सार्वजनिक रुपमा अनलाइनमा हुने आलोचना पनि नियन्त्रण गर्न थालियो । हुन सेन र उनको परिवारबारेमा केही नकारात्मक समाचार आएमा मिडियालाई तारो बनाउने संस्कार बसालियो । ‘उहाँको पहिलो टाइटल स्टोरीको लिडमा राख्न आग्रह गर्दछौं’, त्यहाँको सूचना मन्त्रालयले पत्रकारहरुलाई पठाएको निर्देशनमा भनिएको थियो ।
पहिलापनि मन्त्रालयले यसैप्रकारको टाइटल राख्न भनेको थियो । तर पत्रकारले मानेनन् । त्यही भएर पछि कडाइ गर्न खोजिएको थियो । सत्तारुढ पार्टीका पदाधिकारीलाई पनि यस्तै नियम लगाइएको थियो । हुन सेनकी पत्नी बुन रेनीलाई पनि सन् २०१३मा त्यस्तै टाइटल दिइएको थियो, ‘सामदेच किट्टीप्रित बन्दित बन रेनी हुन सेन ।’ जसको अंग्रेजीमा अर्थ हो, ‘सेलिबे्रटेड सिनियर स्कलर बुन रेनी हुन सेन ।’ यो क्याम्बोडियामा एक खालको मानार्थ पीएचडीको उपाधि हो । त्यो उपाधि प्रथम महिलालाई दिन थालियो । प्रधानमन्त्री पत्नीले औपचारिक रुपमा भने विश्वविद्यालयबाट ‘ग्राजुएसन’ पनि गरेकी छैनन् ।
कसरी यु टर्न भए ?
सूचना मन्त्रालयले पहिला त्यसो भनेपनि प्रधानमन्त्री हुन सेन स्वयं जुलाई २०१६ मा यु टर्न भए । बीबीसीले जनाए अनुसार किन उनी यु टर्न भए त्यो भने खुलेको छैन । उनले त्यसो भन्न नचाहनेले नभन्दापनि हुन्छ भनेर जुलाईमा सामाजिक सञ्जालमा सामग्री राखेका थिए ।
स्थानीय पत्रिकालाई सरकारले अन्तिम चेतावनी सम्झाएर पत्र पठाएको बेलामा नै प्रधानमन्त्रीले त्यो सूचना दिएका थिए । उनी किन परिवर्तन भए भन्नेबारेमा क्याम्बोडियाकै मिडियाले पनि थाहा नभएको बताएका छन् । हुन सेन आफैले उनको फेसबुक पेजमा लेखेका थिए, “यदि पत्रकारहरुले त्यो टाइटल लेख्न चाहँदैनन् भने लेख्न जरुरी छैन ।”
तर पत्रकारले आचारसंहिताको सम्मान गर्नुपर्ने र गलत सूचना शेयर गर्न नहुने ती कम्युनिस्ट नेताले सम्झाएका थिए । क्याम्बोडिया सरकारले मिडियाउपर यो कदम चाल्नुमा त्यस भन्दा केही अघि रिसर्च एण्ड एड्भोकेसी ग्रुप ग्लोबल विटनेस पब्लिसेजको रिपोर्टमा उनको परिवारलई २०० मिलियन अमेरिकी डलर मूल्यको बिजनेस साम्राज्य खडा गरेको भन्ने आरोप लगाइनुलाई कारण मानिएको छ । त्यसमा सरकार तथा सेनाको प्रभावशाली पदपनि आफ्नो पकडमा राख्ने काम हुन सेन परिवारले गरेको आरोप लगाइएको थियो । उनका परिवारका सदस्यहरुले त्यो रिपोर्ट चुनावमा हुन सेनलाई अप्ठेरो पार्नका लागि षड्यन्त्र गर्न ल्याइएको भन्दै प्रतिरक्षाको प्रयास गरेका थिए ।
हुन सेनको पृष्ठभूमि र ओलीसँगको सम्बन्ध
प्रधानमन्त्री केपी ओलीले गएको वैशाख २६ देखि जेठ १ गतेसम्म दक्षिणपूर्वी एसियाका दुई मुलुक क्याम्बोडिया र भियतनामको भ्रमण गरेका थिए ।
ओली भियतनामका प्रधानमन्त्री न्वेन सिएन फुक र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ती दुई देशको भ्रमणमा गएका हुन् । क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन सन् २०१८मा नेपालमा भएको विवादास्पद एशिया प्यासिफिक समिटमा पनि भाग लिन आएका थिए । जुन सम्मेलनले ‘होली वाइन’ भन्ने वाक्यांशको जन्म हुन पुगेको छ । त्यही बेलामा हुन सेनले प्रधानमन्त्री ओलीलाई क्याम्बोडिया भ्रमणको निम्तो दिएका थिए । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएको बेलामा गएको सेप्टेम्बरमा पनि प्रधानमन्त्री ओली र हुन सेनबीच न्यूयोर्कमा वार्ता भएको थियो । त्यो बेलामा ओलीले हुन सेनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ओलीसँग कम्युनिस्टको नाताले प्रधानमन्त्री हुनुअघि पनि हुन सेनसँग राम्रो सम्बन्ध रहेको पूर्व एमालेका नेताहरु नै बताउँछन् ।
क्याम्बोडियन पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका हुन सेन सन् १९८५ देखि क्याम्बोडियामा निरन्तर प्रधानमन्त्री छन् । उनी विश्वकै सबैभन्दा लामो समयदेखि कार्यरत प्रधानमन्त्रीका रुपमा समेत चिनिन्छन् । उतिबेला सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्तिका रुपमा पनि उनी पर्दथे । ३२ वर्षको उमेरमा नै उनी प्रधानमन्त्री भएका हुन् ।
आफ्ना विपक्षीहरुलाई ध्वस्तै पार्ने गुण भएका व्यक्तिको रुपमा समेत उनलाई चिनिन्छ । तत्कालीन प्रजातान्त्रिक कम्पुचियामा खमेरुज आन्दोलनका क्रममा बटालीयन कमाण्डरका रुपमा उनले काम गरेका थिए । उनीमाथि भियतनामको उक्साहटमा लागेर कम्पुचियामा आक्रमण गरेको आरोप पनि लाग्ने गरेको छ । खमेरुज पराजित भएपछि सन् १९७९मा भियतनामको सहयोगमा बनेको सरकारमा उनी परराष्ट्रमन्त्री बनाइएका थिए । सञ्चारमाध्यम र विपक्षीमाथिको नियन्त्रणको लागि उनी कुख्यात मानिन्छन् ।
‘होली वाइन समिट’मा हुन सेनले ‘हाम्रो समयको जटिल चुनौतीको सम्बोधनः स्वतन्त्रता, आपसी वैभवता र विश्वव्यापी मान्यता’ भन्ने विषयमा मन्तव्य राखेका थिए । सो सम्मेलनका हर्ताकर्ता हालै राष्ट्रिय सभाको सांसद पद दावी गर्ने एकनाथ ढकाल थिए भने स्वयं प्रधानमन्त्री ओलीपनि त्यसमा प्रत्यक्ष संलग्न भएको बताइन्छ । हालै प्रधानमन्त्रीले एउटा पत्रकार सम्मेलनमा तिमी र तपाईं प्रयोगको बारेमा प्रवचन दिन खोजेपछि मित्र हुन सेनबाटै त प्रधानमन्त्री ओलीले यस्ता कुरा सिकिरहेका छैनन् भन्ने प्रश्न उब्जिन पुगेको छ ।
शब्दकोशमा तपाईं र तिमी
बृहत् नेपाली शब्दकोशमा ‘तिमी’ शब्दको अर्थ छः मध्यम पुरुष एक वचनमा प्रयोग हुने तँ भन्दा माथिल्लो र तपाईं भन्दा तल्लो श्रेणीको आदरार्थी शब्द ।
शब्दकोशमा नै ‘तपाईं’को अर्थ यस्तो छः औपचारिक प्रसंगमा आफू भन्दा मान्यजनलाई तिमी भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने मध्यम पुरुष एक वचनको आदरार्थी शब्द ।
प्रधानमन्त्रीको रहर
यही असार ३ गते मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले मिडियामा ‘तिमी’ आएको प्रसंगमा गुनासो गरेका थिए । उनले ‘सञ्चार जगत लोकतन्त्रको पिलर’ हो भन्ने उपशीर्षक अन्तर्गत अन्तिमतिर भनेका कुरा यस्ता थिए,
“सञ्चार जगतलाई म भन्न चाहन्छु, सञ्चार लोकतन्त्रको एउटा पिलर हो । त्यसै कारण लोकतन्त्रलाई राज्यको चौथो अंग पनि भनिन्छ । तर आज हामी एउटा संक्रमणकालीन अवस्थामा छौं, सञ्चार क्षेत्रमा भन्ने हो भने । फेसबुकको सञ्चालकले फेसबुक पैदा गरेर गल्ती गरेको के हो ? यसै भनेको होइन । मैले गल्ती गरेँ यसै भनेको होइन । हामीले हाम्रो सामाजिक मूल्य मान्यता मर्यादा, हाम्रो समाज एउटा शिष्ट, सभ्य मर्यादित समाज हो । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई पनि जान्दैन । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो । हाम्रो सञ्चार माध्यमले हाम्रो भाषा, संस्कृतिका कुरा गर्छ । नेपाली भाषामा त बाबुलाई तपाईं नै भन्ने चलन हुन्छ । बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरआमालाई पनि तिमी, हजुर बाबुलाई पनि तिमी ! यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन । कतिलाई मन पर्दैन फेरि मैले भनेको कुरा । सबै समान हुन् भन्ने मात्रै पर्ला । सबै समान बोल्दाखेरी कुनै भाषा कस्तो हुन्छ, कुनै भाषामा जेन्डर छुट्टिएको हुँदैन । कुनै भाषामा आदरार्थी शब्द हुँदैन । कुनै भाषाको आफ्नो मर्म हुन्छ । हाम्रो भाषाको आफ्नै मर्म छ । त्यो मात्रै होइन, सामाजिक सञ्जालको अवस्था के छ ? र, सामाजिक सञ्जाललाई कुरो थापेर हाम्रा स्थापित सञ्चार माध्यमहरु पनि तिनलाई फलो गर्नतिर लाग्ने हो ? भाषा, सभ्यता, शैली, बोलाई, चलाईमा भने हामी कस्तो समाज सिर्जना गर्छौं ? त्यसकारण मेरो आग्रह छ, हामीले हाम्रो समाज निर्माण गर्ने हो । हाम्रा सन्ततिका लागि चोखै जसलाई मैले गाली गरे उसलाई मात्रै त्यो गाली लागेको हो भने सामाजिक क्षेत्रमा सञ्चार माध्यमबाट बोलिएको कुरा त्यो सार्वजनिक नै भएको हुन्छ । त्यो सार्वजनिक नै भएको कुराले अरुलाई पनि असर गरिराखेको हुन्छ । नयाँ पिँढीलाई, बालबालिकालाई बढी असर गरेको हुन्छ । यस कुरामा अलिक संवेदनशील हुनु पर्छ कि ? मैले, केही आफूलाई विद्वान भन्नेहरुले बोलेको सुनेको छु, बोलेको सुन्दा शरम लाग्छ । सभ्यताका सीमाहरु अचम्म लाग्छ । संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँ भित्र अमर्यादा, अभद्रता, सांस्कृतिक मूल्यहरुको अभाव त्यो देखिएको हुन्छ । त्यसकारण मेरो आग्रह यति मात्र हो, यो समाजमा म मात्र बाँच्नु पर्ने होइन । मैले मात्रै भविष्य र परिणाम भोग्नुपर्ने होइन । म सबैलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवारमा, समाजमा मर्यादित भएर बाँच्नु पर्छ । आफ्ना कुराहरु भनौं, ठीक छ । तर तथ्यपूर्ण, तर्कपूर्ण र मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो । त्यसकारण मैले अहिले यत्ति भनेर टुंग्याउँछु । तपाईंहरु सबैको भलो होस् । धन्यवाद ।”
देश विकास ‘तिमी र तपाईं’ ले रोकिएको हो ?
प्रधानमन्त्री ओलीले पहिलेदेखि नै कतिपय उनी निकटस्थहरुसँगको कुराकानीमा मिडियामा तिमी भनिएकोमा असन्तुष्टि जनाउँदै आएको नेकपाका एक उच्च नेता बताउँछन् । उनले १५ महिनाको कार्यकालमा आफूलाई अप्ठेरो पार्ने अवस्था ल्याउने सबै क्षेत्रमा प्रहार गर्दै आएका छन् । सरकारले ल्याएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार विधेयक, सूचना प्रविधि विधेयक जस्ता प्रसंग पनि आफ्ना विरोधीलाई तह लगाउने उद्देश्यबाट प्रेरित देखिन्छन् । चुनाव अघिका उनका अनेकौं नारा र भाकाले हावा खाएपछि अहिले मिडियामा उनको आलोचना भइरहेको छ । जनतामा निराशा बढ्दो छ । खुला रुपमा ती जानकारी आउँदा उनी र उनको कोटरीलाई अहिले अप्ठेरो पर्ने अवस्था आएको उनी इतरका नेकपाकै नेताहरु बताउँछन् ।
त्यसैले पार्टीमै पनि अर्को खेमाले यी विधेयकको विरोध गर्दा उनी भने रक्षाकवच बनेर बसेका छन् । जस्तो पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया काउन्सिल लगायतका विधेयक संशोधन हुनुपर्ने सार्वजनिक रुपमा नै धारणा राखेका थिए । अहिलेको सरकारले देश र जनताको हितका लागि काम गर्न सकेको भए सायद अहिले यसरी सर्वत्र विरोध हुने थिएन । “तर प्रधानमन्त्री मिडियामा लेखिने तपाईं र तिमीले नै देश बिग्रेको भने जस्तै गरिरहेका छन्,” नेकपाका एक नेता भन्छन्, “बरु उहाँका गाली गलौजले नै देशका बालबालिका ठूलो मान्छे भएपछि यसैगरी बोल्नुपर्ने रहेछ कि के हो भनेर सोच्न थालेका छन् ।”
सञ्चारमाध्यमको अप्ठेरो
कसैले सामान चोरेको छ भने भने उसलाई पनि “उहाँले चोर्नुभएको थियो” भन्न असहज हुन्छ । गरिब दुःखीलाई बोलीचालीमा तँ भन्ने र ठूलाहरुलाई तपाईं वा मौसूफ वा बक्सियोस् भन्दा वर्गीय विभेदको अवस्था आउन सक्छ । त्यसैले यो नहोस् भनेर तिमी भन्ने गरिएको तिमी प्रयोग गर्दै आएका कतिपय सञ्चार माध्यमका जिम्मेवार व्यक्तिहरुले बताउँदै आएका छन् । अझै केही सञ्चार माध्यमले अहिले पनि तपाईं नै पनि भन्ने गरेका छन् । खासमा सबैसँग समान व्यवहार गर्नको लागि मिडियाले यो शब्द प्रयोग गरेको बताइँदै आएको छ । मिडियामा त्यस्तो आएपनि बोलीचालीमा भने आफूभन्दा ठूलालाई सबैले ‘तपाईं’, ‘हजुर’ नै भनेको पाइने गरेको छ । कतिपय जातीय समूहमा भने आफूभन्दा ठूलालाई पनि बोलीचालीमा तिमी भन्ने गरिएको पनि पाइन्छ ।
श्री ५, मौसूफ, बक्सियोस् लाउँदा पनि किन राजतन्त्र गयो ?
राजपरिवारका सदस्यलाई श्री ५, मौसूफ र बक्सियोस् भन्नुका साथै छापा माध्यममा दायाँ वा बायाँ भागको माथिल्लो भागमा तथा विद्युतीय सञ्चार माध्यममा सबैभन्दा पहिला राजपरिवारको समाचार दिनुपर्ने बेलाबेलामा राजदरबारको संवाद सचिवालयले उर्दी जारी गर्ने गरेको थियो । त्यही अनुसार नै सञ्चारमाध्यमले त्यो इज्जत राखिदिएका थिए । त्यति धेरै सम्मान दिँदा दिँदैपनि आखिर राजतन्त्र गएको दशक नाघिसकेको छ । जनताले नपत्याएपछि आखिर जतिसुकै आलंकारिक शब्द प्रयोग गर्दापनि राजतन्त्र जोगिएन । त्यो भन्दा अघि राणाहरुलाई १०४ वर्षसम्म श्री ३ महाराज भनिएपनि उनीहरुपनि जनइच्छा विपरीत रहन सकेनन् ।
सत्तापक्षबाटै सामाजिक सञ्जालको दुरुपयोग ?
पछिल्ला दिनमा सामाजिक सञ्जालमा पनि सरकारको विरोध गर्नेलाई केही मानिसहरुले चर्को स्वरमा विरोध गर्ने वा अपशब्द प्रयोग गर्ने गरिरहेको पाइएको छ । ती व्यक्तिमा कतिपय प्रधानमन्त्रीकै सचिवालयका व्यक्ति पनि छन् । यसरी जथाभावी जसको पायो त्यसको विरुद्ध लाग्नेमा एकै खाले व्यक्तिहरु देखिन्छन् । पञ्चायत कालमा पञ्चायतको विरोध गर्नेका विरुद्ध मण्डले खटाइएको शैलीमा अहिले त्यस्ता व्यक्तिहरु खटिएको पाइन्छ । जनताको रगत पसिनाबाट उठेको करबापतको तलबभत्ता खाएर राज्य संयन्त्रबाटै पालित पोषितहरुले स्वतन्त्र सञ्चार माध्यम र पत्रकारहरुमाथि विष वमन गर्ने कार्यलाई अहिले आश्चर्य मान्न थालिएको छ ।
कतै सरकार वा प्रधानमन्त्री ओलीको विरोध भयो भने एउटै रंग रुपका ती मान्छेहरुले जथाभावी विषय सामाजिक सञ्जालमा राखेको देखिन्छ । नेकपाकै एक नेता भन्छन्, ‘‘भिजिलान्तेको शैलीमा प्रयोग भइरहेका ती पात्रहरु सरकारलाई घच्घच्याउने सञ्चारमाध्यम वा लेखकप्रति मात्रै होइन, सत्तारुढ नेकपाकै ओली इतरका नेताहरुको खोइरो खनिरहेका देखिन्छन् । कहिले ती अर्का अध्यक्ष प्रचण्डका विरुद्ध खनिएका देखिन्छन् भने कहिले माधव नेपाल वा बामदेव गौतमका विरुद्ध पनि खनिएको देखिन्छ । त्यसैगरी भीम रावललाई गाली गर्नेमा पनि सोही समूहका मान्छेहरु रहेका छन् । काम गरेर देखाउने हो भने जनताले आफैं भगवान मानि हाल्छन् । काम गर्न नसकेपछि जनताका अगाडि नक्कली भगवान बन्न यी सबै हर्कत भइरहेका छन् । तर, यसो गर्नेलाई नै अन्तिममा नोक्सान हुनेछ ।”