अमेरिकी विदेशमन्त्री दिल्लीमाः दिउसो विरोध, राति स्वागत

गुगलपाटी संवाददाता नयाँ दिल्ली
११ असार २०७६ ०२:३३

अमेरिकी विदेशमन्त्री माइक पम्पेओ दुई दिने भ्रमणका लागि मंगलबार राति नयाँ दिल्ली आइपुगेका छन् ।  उनी खाडी क्षेत्रका केही राष्ट्र हुँदै भारत आइपुगेका हुन् । भारतले उनको भ्रमणको बारेमा यही जुन २० तारेखमा जारी गरेको वक्तव्यमा आपसी चासो, क्षेत्रीय र दुई पक्षीय विषयमा कुराकानी हुने जनाएको थियो ।

पम्पेओ मंगलबार नयाँ दिल्लीमा आइसकेपछि भारतका विदेश प्रवक्ता रभीसकुमारले पनि उनको दुई दिने भ्रमणका क्रममा दुई पक्षीय र क्षेत्रीय विषयमा कुरा हुने बताएका थिए । अमेरिकी विदेशमन्त्री यही जुन २३ मा विभिन्न देशको भ्रमणका क्रममा निस्केका हुन् । उनले साउदी अरेबियाबाट भ्रमण शुरु गरेकोमा त्यसपछि युनाइटेड अरब इमिरेट्स र अफगानिस्तान हुँदै मंगलबार भारत आइपुगेका हुन् ।

उनको औपचारिक कार्यतालिकामा अफगानिस्तानको भ्रमण नरहेपनि उनी अचानक त्यहाँ पुगेका हुन् । उनको भ्रमण तालिकामा श्रीलंका पनि रहेको बताइए पनि त्यो भ्रमण अचानक कार्यतालिकाबाट हटाइएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।  अमेरिकाले श्रीलंकामा इण्डोप्यासिफिक रणनीति अन्तर्गत विशेष हिसाबले आफ्नो उपस्थिति जनाउन खोजेको भएपनि अहिले त्यहाँका राजनीतिक दलहरुबीच सहमति हुन नसकेपछि पम्पेओको भ्रमण रद्ध भएको अनुमान गरिएको छ ।

नयाँ दिल्लीमा उनले आज विदेशमन्त्री एस जयशंकरसँग दुई पक्षीय भेट गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नेछन् ।

भारतमा नयाँ सरकार आएपछि मोदीको शपथ ग्रहण समारोहमाबाहेक दुई पक्षीय मामिलालाई लिएर त्यहाँ भएको यो पहिलो भ्रमण हो । पम्पेओ भारतपछि जापान जानेछन् । त्यहाँ जी २० को बैठक हुन लागिरहेको छ । त्यसैगरी सो बैठकमा सहभागी हुन आउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीमा सामेल भएर दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि वार्ता गर्नेछन् ।

त्यसअघि उनको जापानी प्रधानमन्त्रीसँग भेटघाटको कार्यक्रम रहेको छ । अमेरिकाका विदेशमन्त्री मंगलबार राति नयाँ दिल्ली आइपुग्नु भन्दा अघि भारतका बामपन्थी दलहरुले दिउँसो दिल्लीमा विरोध प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनमा अमेरिका परस्त मोदी भन्ने ब्यानर पनि बोकिएको थियो । सो अवसरमा अमेरिकाको मध्यपूर्व नीतिको आलोचना गरिएको थियो । उनीहरुले मध्य दिल्लीमा प्रदर्शन गरेका हुन् । दंगा प्रहरीले उनीहरुलाई निगरानी गरेको थियो । अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको प्रवर्द्धन र इरानविरुद्ध आफ्नो पकडलाई बलियो बनाउने र भारतसँगका केही व्यापारीक समस्या समाधानका उद्देश्यले यो भ्रमण भएको बताइँदै आएको छ ।

क्षेत्रीय विषय पनि उठ्ने भनिएकोले भारत र अमेरिकाबीचको उच्चस्तरीय वार्तामा नेपाल मामिला पनि पर्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकाले भारतीय सामानलाई दिएको ड्युटी फ्री सुविधा हटाएपछि र भारतले पनि अमेरिकी साधनको आयातमा कर बढाएपछि यो भ्रमण हुन लागेको हो । भारतले २८ वटा अमेरिकी साधनमा हालै कर बढाएको छ ।

मंगलबार बामपन्थी दलहरुले ‘नो वार अन इरान’ लगायतका नारा लगाएका थिए । उनीहरुले इरानबाट भारतले ल्याउने तेलको मात्रा नघटाउन समेत उनीहरुले आग्रह गरेका थिए । अमेरिकाले इरानको तेल घटाउन तेल लग्ने राष्ट्रहरुलाई आग्रह गर्दै आइरहेको छ । सो प्रदर्शनमा भाग लिएका अरुणकुमारले भने,“अमेरिकाले भारत जस्ता देशहरुसँग बढाउने सम्बन्ध भनेको मालिक र नोकरको रुपमा हो । हामी त्यसको विरुद्धमा छौं । हामी समानताको सम्बन्ध चाहन्छौं ।”

कतिपय प्रदर्शनकारीले क्युबा र भेनेजुएलामा जारी रहेको अमेरिकी गतिविधि रोक्न आग्रह समेत गरेका थिए । पम्पेओ अफगानिस्तानमा भने पूर्वघोषणा बिना नै गएका हुन् । उनले मंगलबार काबुलमा अफगान राष्ट्रपति अस्रफ घानीलाई भेटेका थिए । सो भेटका क्रममा तालिवान समूहसँग भइरहेको वार्ता  र आउँदो सेप्टेम्बरमा हुन लागेको राष्ट्रपति चुनावको सुरक्षाका  बारेमा छलफल गरेका थिए ।  उनको अफगानिस्तानको भ्रमण सातौं चरणको तालिवानसँगको वार्ता अघि हुन लागेको हो ।

तस्बिरः मंगलबार दिउँसो बामपन्थी दलले नयाँ दिल्लीमा गरेको विरोध प्रदर्शन र राति विमानबाट ओर्लेपछि अमेरिकी विदेशमन्त्री ।