उल्टो मन्त्र पढेर श्रीमती र बुहारीको हत्या गरेको भन्दै झाँक्रीको हत्या गर्ने पक्राउ

गुगलपाटी संवाददाता बर्दिया
१२ असार २०७६ ११:३७

गाउँमा गुरुवा (धामी झाँक्री) काम गर्दै आएका मृतक थारुले उल्टो मन्त्र पढेर श्रीमती र बुहारीको मृत्यु भएको भन्दै झाँक्रीको हत्या गरेको आरोपमा दोदलाल थारुलाई पक्राउ गरेको छ ।

बर्दियाको राजापुरमा एक साता अघि भएको हत्या आरोपमा प्रहरीले बर्दियाको राजापुर नगरपालिका(३, नङ्गापुरका ४९ वर्षीय अजोध्या भनिने थारुलाई प्रहरीले घरबाटै पक्राउ परेको डीएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

गएको असार ४ गते राति १२ बजे आफ्नै टोलका ५५ वर्षीय जयराम थारुको हत्या गरेको भनी दोदलाल थारुमाथि उजुरी परेपछि प्रहरीले थारुलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत जानकारी गराएएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदन महराले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार रुढीवादी सोचका कारण जयरामको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा प्रयोग गरिएको धारिलो हतियार तथा घाँस टुक्रा पार्ने घरेलु हतियार गरसा समेत बरामद गरिएको उहाँले बताउनुभयो ।

एक महिनाभित्र श्रीमती र बुहारीको मृत्यु भएको र आफ्नो पनि पेट फुल्ने समस्या भएपछि गुरुवाले नै समस्या गराएको र आफूलाइ पनि मार्छ कि भन्ने डरले बदला लिन हत्या गरेको थारुले बयानमा बताएको डिएसपी महराले बताउनुभयो ।