झिनो आशामा श्रीलंका
गुगलपाटी संवाददाता चेस्टर ली–स्ट्रिट१६ असार २०७६ ०८:१५
पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग बेहोरेको हारले श्रीलंकाको सेमिफाइनल यात्रामा गम्भीर धक्का लागेको थियो । टोलीको यात्रा अझै सकिसकेको भने छैन ।
श्रीलंकाले सोमबार १० टोली सम्मिलित एकदिवसीय विश्वकपको लिग चरणमा आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग खेल्दै छ । सेमिफाइनल दौडबाट यसअघि नै बाहिरिसकेको वेस्ट इन्डिजका लागि गुमाउनु केही छैन ।
अघिल्लो साता इंग्ल्यान्डलाई २० रनले पराजित गरेपछि श्रीलंकाको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको थियो । तर दक्षिण अफ्रिकासँगको ९ विकेटको पीडादायी हारले उसको सम्भावना निकै कमजोर बनेको छ । सेमिफाइनलको गणितीय सम्भावना कायम राख्नका लागि उसले बाँकी दुवै खेलमा जितेर मात्र पुग्दैन, पाकिस्तान र इंग्ल्यान्डका बाँकी खेलका नतिजामा पनि भर पर्नुपर्छ ।
तीन दिनअघि चेस्टर ली–स्ट्रिटको यही मैदानमा दक्षिण अफ्रिकासँगको हारमा श्रीलंकाको असंयमित ब्याटिङ पुनः दोहोरियो । वेस्ट इन्डिजको बलिङ आक्रमणको सामना गर्नका लागि दिमुथ करुणारत्नेको टोलीले ब्याटिङ प्रदर्शनमा धेरै सुधार गर्नुपर्छ ।
अर्कोतर्फ जेसन होल्डरको नेतृत्वमा रहेको क्यारेवियन टोली विश्वकपको निराशाजनक अभियानको अन्त्यतिर आइपुगेको छ । उनीहरूले पछिल्लो ७ मध्ये १ खेलमा मात्र जित हासिल गरेका छन् । पाकिस्तानविरुद्धको पहिलो खेलमै ७ विकेटको जितपछि वेस्ट इन्डिजको पतनको दिन सुरु भएको हो ।
जो अन्तिम स्थानको अफगानिस्तानभन्दा एक स्थान माथि छ र सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । र पनि वेस्ट इन्डिज टोली बलिङ, ब्याटिङ र फिल्डिङ गरी तीनै क्षेत्रमा उत्कृष्ट छ । मात्र उनीहरूले निर्णायक क्षणको सदुपयोग गर्न सकेनन् ।
प्लेयर्स टु वाच
लासिथ मालिंगा (श्रीलंका)
श्रीलंकाली भेट्रान बलर लासिथ मालिंगाले विश्वकपमा अहिलेसम्म१० विकेट लिएका छन् । सुरुआतमा अपेक्षित प्रदर्शन गर्न नसके पनि पछिल्ला २ खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध ४–४ विकेट लिएर उनी आफ्नो लयमा फर्किएका छन् । विश्वकप इतिहासमै २ पल्ट ह्याट्रिक विकेट लिने एकमात्र बलर मालिंगावेस्ट इन्डिजका शीर्ष क्रमका लागि खतरा हुन सक्छन् ।
क्रिस गेल (वेस्ट इन्डिज)
करिअरको अन्त्यतिर रहेका क्रिसगेलले आफ्नो पाँचौं तथा अन्तिमविश्वकप स्मरणीय बनाउन सकेनन् । सेमिफाइनल दौडबाट टिम बाहिरिएपनि उनले आफ्नो उत्कृष्ट प्रदर्शनसुधार गर्ने अवसर पाएका छन् ।जारी विश्वकपका ७ खेलमा न्युजिल्यान्डविरुद्ध मात्र उल्लेखनीय इनिङ्स खेलेका गेलले दबाबमुक्त खेलमा श्रीलंकाविरुद्ध आफ्नो विस्फोटक छवि देखाउन सक्नेछन् । एजेन्सी