फिफा महिला विश्वकप : अमेरिका उपाधि नजिक
गुगलपाटी संवाददाता लियोनएलेक्स मोर्गनले गरेको निर्णायक गोल मदतले अमेरिकाले मंगलबार फिफा महिला विश्वकपमा नाटकीय सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएको छ । खेलको अन्त्यतिर गोलरक्षक एलेसा नेहरले पेनाल्टीमा गोल हुन जोगाएपछि अमेरिकाले फाइनल यात्रा तय गरेको हो ।
आफ्नो ३० औं जन्मदिन मनाइरहेकी उपकप्तान मोर्गनले आधा घण्टाको खेलपछि हेडबाट खेलको निर्णायक गोल गरिन् । यो उनको यस विश्वकपको छैटौं व्यक्तिगत गोल रह्यो । यसअघि क्रिस्टियन प्रेसको गोलले अमेरिकाले अग्रता लिएयता इंग्ल्यान्डका लागि एलेन हाइटले बराबरी गोल फर्काइन् ।
पहिलो हाफमा तीन गोल भएयता दोस्रो हाफ भने भार विवादमा केन्द्रित रह्यो । हाइट गरेको अर्को गोल भारको निर्णयपछि अफसाइड घोषणा गरिएको थियो । फिल नेभिलको टिमले ८४ औं मिनेटमा पेनाल्टीको अवसर पायो तर स्टेप हटनको प्रहार गोलरक्षक नेहरले ठीक अनुमान गर्दै डाइभ गरिन् र गोल हुन दिइनन् । खेलको अन्त्यतिर इंग्ल्यान्ड १० खेलाडीमा सीमित रहेको थयो । दोस्रो पहेँलो कार्डका कारण मिली ब्राइट मैदान छाड्न बाध्य रहिन् । ‘आजको खेलमा हामी विजयी रह्यौं, किनभने नेहरले पेनाल्टी जोगाइन् । खेलको निर्णायक खेलाडी उनी नै थिइन् । उनले खासमा हाम्रो टिमको उद्दार गरिन्,’ मोर्गनले खेलपछि प्रतिक्रिया दिइन् ।
आइतबार हुने फाइनलमा अमेरिकाले स्विडेन वा नेदरल्यान्ड्सबीच हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । अमेरिका महिला विश्वकपको आठ संस्करणमध्ये चौथोपल्ट उपाधि जित्ने अभियानमा छ । अमेरिका फाइनल पुगेको भने यो लगातार तेस्रोपल्ट हो । इंग्ल्यान्ड भने ठूलो प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिएको यो लगातार तेस्रोपल्ट हो । (एएफपी)