सरकार मुआब्जा दिन सक्ने अवस्थामा नभए १६/१६ मिटरमात्र भत्काउनुस् :- कटुवाल

गुगलपाटी संवाददाता हेटौँडा
२० असार २०७६ १०:२२

सरकार मुआब्जा दिन सक्ने अवस्थामा नभए १६र१६ मिटरमात्र भत्काउन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवाल गरेका छन् ।

सडकको दायाँबायाँ १६/१६ मिटर मात्र विस्तार गर्ने हो भने मुआब्जाको दावी नगर्ने र सडक विस्तारको काममा सघाउने उनले बताएका छन् ।

उनले सडक बिस्तारको काम न्यायोचित तरिकाले गर्न माग समेत गरेका छन् ।सडकको केन्द्र विन्दुबाट २५/२५ मिटर विस्तार गर्ने हो भने मुआब्जा नपाएकाहरुको हकमा सरकारले उचित मुआब्जा दिनुपर्ने उनले बताए ।

सबैलाई बिचल्ली पार्ने गरी सरकार प्रस्तुत हुनुभएन, उनले भने । यदि, यसमा अझै समस्या भए आफूहरु सम्मानित अदालतको अन्तिम आदेश मान्न तयार रहेको प्रतिक्रिया दिए ।

सरकारले पेलेर सडक विस्तार गर्ने हो भने त्यसले निकै समस्या ल्याउने उनले बताए । हामी विकास विरोधी होइनौँ, तर बिना मुआब्जा नागरिकलाई घरबारबिहीन बनाउँदा सबै सरोकारवालाहरुले सोचिदिनुपर्छ, कटुवालले भने ।

हजारौँ व्यवसायी र घरधनी पीडित बन्ने अवस्था छ, कटुवालले भने – सामान्य नागरिकको अधिकारको सुरक्षा सबैको चासोको विषय होइन र ?