चार सन्तानलाई विष खुवाएर आमा फरार!
गुगलपाटी संवाददाता जनकपुरएक आमाले आफ्ना ४ जना नाबालक छोराछोरीलाई विष सेवन गराई हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ।
बाराको सवर्ण गाउँपालिका-४, देवापुर चौरहियाका लालबाबु मियाकी पत्नी रुसमा खातुनले आफ्ना ४ जना छोराछोरीहरुलाई भातमा विष खुवाएर फरार भएको परिवारजनले आरोप लगाएका छन्।
बिहीबार बिहानै करिब साढे ९ बजेको समयमा खातुनले भात, दाल पकाई त्यसमा विष मिसाएर आफ्ना छोराछोरीहरुलाई खुवाएर फरार भएको रुसमाका काका ससुरा भिखारी मियाले आरोप लगाए।
भिखारी लालबाबुका सहोदर काका हुन्। लालबाबु भने भाइबुहारीको उपचारका लागि भारत गएको बिखारीले बताए। ‘एउटी आमाले यस्तो जघन्य अपराध कसरी गर्न सक्छिन्?,’ भिखारीले भने, ‘तर, बच्चाहरु घरमा रोइरहेको सुनेर आउँदा बान्ता गर्दै छट्पट्याई रहेका थिए।’
विष सेवन गरेकाहरुमा लालबाबुका ८ वर्षीय छोरा न्यामुदिन मिया, २ वर्षीय छोरा औलादिन मिया, ७ वर्षीय छोरी सनाजा खातुन र ६ वर्षीय छोरी मोजना खातुन रहेका छन्।
विष सेवन गराइएका चारै जना बालबालिकाहरुलाई भिखारीले कलैयास्थित अस्पतालमा उपचारका लागि भर्ना गराएका छन्। अस्पतालमा उपचारपछि बालबालिकाहरु खतरामुक्त रहेको डा राहुल कर्णले जनाए।
जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह राठौरले घटनाका बारेमा आमा फेला पर्न नसकेसम्म थाहा हुने डिएसपी राठौरले जनाए। ‘आमा फरार रहेकाले घटनाको यकिन कारण खुल्न सकेको छैन,’ उनले भने, ‘विष सेवन गराइएको भनिए पनि कुन विषादी कति परिमाणमा प्रयोग गरेको हो त्यो खुल्न सकेको छैन। किन त्यस्तो घटना गराइयो भन्ने सम्बन्धमा पनि आमा फेला पर्न नसकेसम्म थाहा हुँदैन।’ फरार खातुनको व्यापक खोजी भइरहेको डिएसपी राठौरले जनाए।
रुसमाको माइत भारतको लालछपरामा रहेको छ। घटनाको अनुसन्धान जारी रहेको उनले जनाए। स्रोत : नेपाललाईभ