पूर्वी क्षेत्रका लागि कोलकाताबाट रेलमार्फत सामानको आयात शुरु
(रासस) विराटनगर, १७ वैशाखतेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ ।
गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएकाले बथनाहासम्म ल्याइएको भारतीय पक्षले जनाएको छ ।
परीक्षणकै रुपमा पहिलोपल्ट मालबाहक रेल बथनाहासम्म आइपुग्दा मोरङका व्यापारी खुशी भएका छन् । यस सम्बन्धमा उद्योग संगठन मोरङले विज्ञप्ति जारी गर्दै तेस्रो मुलुकबाट यस क्षेत्रका उद्योग व्यवसायीले आयात गर्ने औद्योगिक कच्चा पदार्थका साथै वस्तु रेलबाट ल्याउनुपर्ने माग पूरा भएकामा खुशी व्यक्त गरेका हुन् ।
कोलकाता बन्दरगाहमात्र नभई विशाखापट्टनमबाट पनि नेपाली व्यापारीले आयात–निर्यात गर्न पाउनुपर्ने माग पनि सो विज्ञप्ति छ ।
उक्त संगठनका अध्यक्ष मुकेश उपाध्यायले रेलमार्फत सामान तथा कच्चा पदार्थ ढुवानी हुँदा लागत कम पर्ने, झण्झट नहुने र समय पनि कम लाग्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाको कटहरीसम्म रेल विस्तार भएपछि लागत प्रतिकिलो रु दुई कम लाग्ने छ र अहिले बथनाहासम्म अनुमानित प्रतिकिलो रु एक लाग्ने उहाँले जानकारी गराउनुभयो ।