मुख्यमन्त्री पौडेलद्वारा मकवानपुर पुस्तक सार्वजनिक

गुगलपाटी संवाददाता हेटौंडा
२५ असार २०७६ १२:२७

जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय निकायको शब्दचित्र समेटेर प्रकाशन गरेको मकवानपुर नामक पुस्तक सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणी पौडेलबाट सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा वक्ताहरुले पुस्तक परिस्कृत र उपयोगी रहेको बताउनु भएको थियो । स्थानीय १० वटा तहको बारेमा पुस्तकमा समेटिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले समग्र जिल्लाको शब्दचित्र समेटिएको मकवानपुर नामक पुस्तकको समेत चर्चा गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिको सक्रियता र क्रियाशिलताको कारण जिल्लाका १० वटै स्थानीय निकायमा बन्ने योजना, निर्माण लगायतका विकासका पूर्वाधारमा एकरुपता ल्याउनको लागि भूमिका रहने मुख्यमन्त्री पौडेलले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरु सहभागि बैठकमा मुख्यमन्त्री पौडेलले डोजर लगाएर डाँडा भत्काउनु समृद्धि होइन, समृद्धि हुन उत्पादनसँग जोडिनमा ध्यान दिन अनुरोध गर्नुभयो ।

प्रदेश सभासद प्रेम बहादुर पुलामीले समन्वय समितिलाई के कति अधिकार र के कस्तो अख्तियारी छ भन्ने कुरा किटान नहुँदा समस्या रहेको बताउनुभयो ।

प्रदेश मुख्य सचिव आनन्द ढकाले अनुगमन, समन्वय र सन्तुलित निकासको लागि मार्गदर्शन गर्ने भूमिका समन्वय समितिको रहने बताउनुभयो ।

समन्वय समितिका उपप्रमुख भगवति पुडासैनीले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, बाग्मती गाउँपालिकाकी उपाध्यक्ष, धनमाया स्याङतान, मकवानपुरगढि गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई लगायतले आफ्नो धारण राख्नुभएको थियो ।