‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडिओ लिन हुन्न’ : मन्त्री महासेठ
गुगलपाटी संवाददाता काठमाडौंभौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडिओ खिच्न सञ्चार माध्यमहरूलाई रोक लगाएका छन्।
मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरूद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापनपत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नुवाकोटको ज्ञापनपत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई भिडिओ खिच्न रोक लगाएका हुन्।
आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराए।
‘यसरी भिडिओ लिन हुन्न,’ मन्त्री महासेठले आक्रामक शैलीमा भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडिओ लिन हुन्न।’
कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ।
यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडिओ खिच्न रोक लगाए। मन्त्री महासेठले सञ्चार माध्यमहरूलाई भिडिओ लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहेनन्। स्रोत : सेतोपाटी