बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी, एकको मृत्यु
गुगलपाटी संवाददाता रौतहटलगातारको वर्षा पछि डुबानले सदरमुकाम गौर लगायतका क्षेत्रमा सर्पको बिगबिगी भएको छ । बासस्थान पानीले भरिए पछि सर्प बाहिर निस्केका हुन् । सर्पले डसेर आइतबार राति एकजनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले सर्पबाट जोगिन आग्रह गरेको छ ।
जिल्लाको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साह बाढीसँगै आएको विषालु सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले बताए। ‘डुबान क्षेत्रमा अहिलेसम्म २० जना भन्दा बढीलाई सर्पले डसेको छ,’ उनलेभने, ‘डुबान र बाढीले बगाएर ल्याएको विषालु सर्पले डस्ने गरेको छ। यसबाट सजग हुन भनेका छौं।’
पानी भित्र हिड्ने हुनाले मानिसले सर्प देख्दैनन्। सर्पले डसेर बिरामी परेका १५ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। दुलोमा पानी भरिए पछि सर्प बाहिर निस्केको हो। वर्षा पछि जिल्लाभरी डुबानको समस्या छ।
जिल्लामा बाढीबाट मर्नेको संख्या ५ पुगेको छ। अहिले पनि धेरै स्थानमा जान सक्ने अवस्था छैन्। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालसहितको टोली सोमबार बिहान टिकुलीयातर्फ उद्धारको लागि गएको छ।
लगातारको वर्षा पछि लालबकैया र बागमती नदी बस्तीमा पसे पछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा पारेको छ। जिल्ला प्रहरीका अनुसार बाढीबाट झण्डै ४० हजार घर प्रभावित भएका छन्। एक हजार परिवार बिस्थापित छन्। ४ सय घर पूर्णरुपले क्षति भएको र ३० हजार जनसंख्या प्रभावित भएको प्रारम्भिक अनुमान छ।
अहिले घर डुबान, बिस्थापितको संख्या, क्षतिको अवस्था लगायत विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अझै १० भन्दा बढी नगरपालिकाका गाउँहरु डुबानमा छन्। डुबान पछि विद्युत पोल ढलेर संचारसम्पर्क विच्छेद हुँदा अधिकांश गाउँमा भएको क्षतिको विवरण एकिन हुन सकेको छैन।
प्रहरीले आफ्नो मातहतमार्फत विवरण संकलन गरिरहेको छ। इशनाथ नगरपालिकाको १, २, ३, ४ वडाका झण्डै ४ हजार घरपरिवार अहिले पनि डुबानमा फसिरहेका छन्। जताततै बाटो भत्किएर जान सक्ने अवस्था छैन। कहाँ कतिघर डुबानमा पारे, विस्थापित भए भन्ने एकिन हुन नसके पछि राहत र उद्धार प्रभवित बनेको छ।
केही स्थानमा डुबान कम हुँदै गए पनि सडकहरु भत्किएका छन्। पश्चिम क्षेत्रमा पानीले सडक डुबानमा परेर देख्न सक्ने अवस्थामा छैन। धेरै जसो नयाँ सडक भत्किएका छन्। विस्थापितहरुलाई विद्यालय, चौतारा लगायतका सुरक्षित स्थानमा सारिएको छ। वर्षा पछि डुबानले जिल्लाभरीका ७० भन्दा बढी इट्टा उद्योग डुबानमा पारेका छन्। त्यस्तै ठूलो संख्यामा माछा पोखरीमा क्षति पुगेको छ। भर्खरै लगाइएको धानबाली डुबानमा पारेको छ। दुई दर्जन बढी बिद्यालयहरु डुबानमा परे पछि विदा दिइएको छ। स्रोत : कान्तिपुरदैनिक