प्रदेश तीनमा कृषि आधुनिकीकरणका लागि पाँच करोडका यन्त्र

गुगलपाटी संवाददाता मकवानपुर
१ श्रावण २०७६ ०६:४०

प्रदेश ३ सरकारले कृषिलाई आधुनिकीकरण गर्न करिब पाँच करोड रुपैयाँ खर्चेर कृषि यन्त्रहरू खरिद गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिलाई आधुनिकीकरण गर्दै विषादीमुक्त बनाउने नीतिअनुरूप माटो परीक्षण यन्त्रलगायत सामग्री खरिद गरेको हो ।

मन्त्रालयले करिब एक करोड ३३ लाख रुपैयाँमा चारवटा भेटनरी एम्बुलेन्स, एक करोड २५ लाख रुपैयाँ खर्चेर माटो परीक्षण गर्ने पाँच वटा मेसिन, एक करोड ७५ लाख रुपैयाँमा विषादी परीक्षण गर्ने पाँचवटा मेसिन र ८० लाखका लगानीमा माटो परीक्षण गर्ने भ्यान खरिद गरेको मन्त्रालयले जनायो ।

प्रदेश सरकारले वर्ष ०७५/७६ को नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्षको अन्तिममा विभिन्न जिल्लालाई वितरण गर्ने गरी सामग्री खरिद गरे पनि चारवटा भेटनरी एम्बुलेन्स भने कुन जिल्लालाई वितरण गर्ने अझै टुंगो नलागेको मन्त्रालयका प्रवक्ता निर्मलकुमार गदालले बताए । उनका अनुसार मन्त्रालयले प्रदेशभरको १३ जिल्ला हेर्ने गरी करिब एक करोड ३३ लाख रुपैयाँ खर्चेर भेटनरी एम्बुलेन्स खरिद गरेको हो ।

‘हामीले मन्त्रालय मातहतमा राखेर एम्बुलेन्स सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं । तर, सञ्चालन कार्यविधि भने बनेको छैन,’ उनले भने, ‘एम्बुलेन्सभित्र पशुको उपचारका लागि आवश्यक प्राथमिक औषधि रहने छन् । हामीले प्रत्येक एम्बुलेन्समा एउटा डाक्टरको समेत व्यवस्था गर्ने छौं ।’ उनले आगामी आर्थिक वर्षमा पनि भेटनरी एम्बुलेन्स खरिद गर्ने र प्रदेशभर रहेका भेटनरी अस्पताललाई समेत उपलब्ध गराउने तयारी मन्त्रालयले गरिरहेको जनाए ।

‘एम्बुलेन्समा डाक्टर र पशुको उपचारका लागि आवश्यक पर्ने प्राथमिकता औषधिसहितको टोलीलाई प्रदेशभर हेर्ने गरी व्यवस्था मिलाइने छ,’ उनले भने, ‘यसका लागि छिट्टै सञ्चालनको कार्यविधि बनेर बाँकी कामको प्रक्रिया अगाडि बढाइने छ ।’

उनका अनुसार प्रदेशका पाँचवटा जिल्लामा विषादी अवशेष नियमन प्रयोगशाला स्थापना र सञ्चालन गर्न पाँचवटा विषादी परीक्षण मेसिन खरिद गरिएको हो ।

उक्त मेसिन कृषि ज्ञान केन्द्र चितवन, माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडा, कृषि ज्ञान केन्द्र ललितपुर तथा कृषि ज्ञान केन्द्र काभ्रेलाई वितरण गरिने छ । यसैगरी, माटो परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन गर्न विभिन्न पाँच जिल्लाका स्थानीय तहलाई माटो परीक्षण मेसिन हस्तान्तरण गरिने छ । चितवनको खैरहनी नगरपालिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिका, नुवाकोटको विदुर गाउँपालिका, काभ्रेको पाँचखाल नगरपालिका र धादिङको सिद्वलेख गाउँपालिकालाई हस्तान्तरण गरिने छ ।

‘मन्त्रालयले सहयोग गरेको स्थानीय तह र जिल्लामा माटो तथा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने हाम्रो लक्ष्य रहेको छ,’ गदालले भने । उनका अनुसार माटो र विषादी परीक्षण
प्रयोगशाला नभएको स्थानमा ८० लाख रुपैयाँ खर्चेर किनिएको प्रयोगशालासहितको भ्यानले सहयोग गर्ने छ ।

अघिल्लो आर्थिक वर्षमा विशेष गरी उत्पादनको आधारमा अनुदान वितरण र १० जिल्लामा शीतभण्डार निर्माणमा केन्द्रित गरेको मन्त्रालयले आगामी आर्थिक वर्ष ०७६/७७ मा कृषिमा यान्त्रिकीकरणमा जोड दिइने उनले बताए । गदालका अनुसार मन्त्रालयलेकाठमाडौं उपत्यकाभित्रको तीन जिल्लाबाहेक अन्य जिल्लामा शीतभण्डार निर्माणको तयारी अगाडि बढाइसकेको छ । प्रदेश सरकारले ५२ करोड रुपैयाँ बराबरको लागतमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइरहेको छ । स्रोत : कान्तिपुदैनिक