तयारी विना ऐन ल्याएकोले समस्या : हेटौंडाका थोक व्यवसायी
गुगलपाटी संवाददाता हेटौंडानेपाल सरकारबाट २०७६ साउन १ गतेदेखि लागू गरेको वेभमा आधारितमा अभिलेख गराई कारोबार गर्नुपर्ने व्यवस्था हेटौंडाका थोक व्यवसायीहरु विरोध गरेका छन् । न्युज क्लब नेपालले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै हेटौंडाका विषयगत थोक विक्रेताहरु संघका अध्यक्ष तथा प्रतिनिधिहरुले विरोध गरेका हुन् । तत्काल भन्सार र ठूला व्यवसायिक प्रतिष्ठानहरुमा मात्र यो नीति कार्यान्वयन गर्ने गरी अघि बढाउन समेत माग गरेका छन् ।
क्लबले नीति कार्यानव्यनको विषयमा छलफल गरेको थियो । छलफल कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, संघका जिल्ला अध्यक्ष कृष्ण कटुवाल लगायत नेपाल वितरक संघ मकवानपुरका अध्यक्ष चक्रधर विडारी, मदिरा व्यवसायी संघका सर्विन्द्र पौडेल, खाद्य व्यवसायी सघंका विजय सागर श्रेष्ठ लगायतकाले आ–आफ्नो धारणा राखेका थिए । त्यस्तै कपडा व्यवसायी तेज अधिकारीले भने व्यवायीहरु बीच बीचमा ठगिने र असुरक्षा महशुस गर्न नपर्ने नीति आएकोमा आफूलाई खुसी लागेको बताए । उनले ऐन कार्यान्वयन गर्दा साना व्यवसायीहरुलाई भने असर पर्ने समेत बताएका छन् ।
सरकारले साउन १ गतेबाट राजस्व चुहावट रोक्न मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली (भेहिकल कन्साइनमेन्ट ट्र्या्किङ सिस्टम) लागू गरेको छ । यो प्रणालीअनुसार अब एक ठाउँबाट अर्को ठाउँमा व्यवसायिक माल सामान ढुवानी गर्दा केन्द्रीय सूचना प्रणालीमा व्यवसायिक प्रयोजनका मालवस्तु र ढुवानी साधको संक्षिप्त विवरण इन्ट्री गर्नुपर्ने छ । विवरण पेश नगरिएमा सामान बोक्न पाइने छैन ।