मकवानपुरको ग्रामिण सडक अझै ठप्प, कान्तिलोकपथ चल्न एक महिना

गुगलपाटी संवाददाता
४ श्रावण २०७६ १२:३५

हेटौंडाः संघीय राजधानी जोड्ने कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा आउन अझै एक महिनाभन्दा बढी लाग्ने भएको छ। हेटौँडा–काठमाडौंको सजिलो र छिटोबाटोको रूपमा केही समय अघिबाट सञ्चालनमा आएको यो बाटो विनाशकारी अविरल वर्षाले तहसनहस बनाएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कतिपय स्थान पूरै सडक बगाएको, कतै सय मिटरभन्दा लामो पहिरो खसेकोले बाटो तत्काल सञ्चालन गर्न असम्भव रहेको छ। उनले ठूलो वर्षा भए झन धेरै समय लाग्नेसमेत बताए । यस्तै मकवानपुरका अधिकांश ग्रामिण सडकहरु अझै ठप्प रहेका छन् । धेरै जसोबाटो फराकिलो बनाउन डोजर चलाएको कारण बाटोहरु विग्रेको प्रजिअ तामाङले बताए । मकवानपुरको भीमफेदी गाउँपालिका हुँद कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार जोड्ने बाटो अझै खुल्न सकेको छैन। यस्तै, थाहा नगरपालिकाबाट डाँडाखर्क–कैलाश जोड्ने बाटो अवरुद्ध छ। यस्तै, भीमफेदी गाउँपालिकाका छोटा दुरीका ग्रामिण सडकहरु पनि अवरुद्ध रहेका छन् । इन्द्रसरोवरको ग्रामिण सडकमा पनि पहिरोको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । यस्तै, पश्चिम मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङको खैराङ, काँकडा लगायत क्षेत्रको बाटो अवरुद्ध भएको र खुलाउने काम भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।