कोही बच्चा यस्ता हुन्छन्, जसलाई रिसाएपछि सम्हाल्न गाह्रो हुन्छ । रिस आवेगले उनीहरु भड्कन्छन् । सामान तोडफोड गर्छन् । चिच्याउँछन् । भाग्छन् । रुन्छन् । निरास हुन्छन् । यस किसिमको अवस्थालाई टानट्रम भनेर बुझिन्छ ।
बच्चामा यस किसिमको प्रवृत्ति आमाबुवाको कारण हुनेगर्छ । जस्तो कि, आमाबुवामा तनाव, चिन्ता वा निरासा भएमा बच्चालाई टेन्ट्रमको समस्या हुन्छ । जब बच्चामा यस किसिमको प्रवृत्ति विकास हुन्छ, उनीहरुलाई सम्हाल्न सजिलो छैन ।
टेन्ट्रम के हो ?
ट्रेन्टम अर्थात एकाएक क्रोधले भड्किनु । बालबालिकामा ट्रेन्टम जसरी पनि प्रकट हुनसक्छ, रिस, उदासी, रुने, कराउने, कुद्ने । कतिपय बच्चा सास रोक्ने, वान्ता गर्ने र एकदमै आवेगमा आएर जे पनि गर्ने किसिमको हुन्छ ।
यो समस्या बालबालिकालाई सानै उमेरमा देखिन्छ । खासगरी एक देखि तीन बर्षको उमेरभित्र । यही उमेरमा किन हुन्छ त ? किनभने यतिबेला बच्चाको सामाजिक र भावनात्मक क्षमता विकास भइरहेको हुन्छ । उनीहरुसँग आफ्नो भावना अर्थात इमोसन व्यक्त गर्नका लागि शब्द हुँदैन । उनीहरु आफुलाई व्यक्त गर्न चाहन्छन् तर सक्दैनन् । उनीहरुले अरुको ध्यानआकर्षण गर्न र आफ्नो भावना व्यक्त गर्नका लागि केही न केही गर्नुपर्ने हुन्छ । आफुभित्र गुम्सिएको कुरा वा पीडा व्यक्त गर्दा उनीहरुको व्यवहार विस्फोटक बन्न सक्छ । यसरी व्यक्त हुने आवेग क्रमस बानीमा रुपान्तरण हुन्छ ।
कसरी टेन्ट्रमको समस्या हुन्छ ?
उदासी- जुन बच्चा चाडै उदास हुन्छन्, उनीहरुमा टेन्ट्रमको खतरा अधिक हुन्छ ।
तनाव- तनावग्रस्त, भोक र थकानग्रस्त अवस्थाले बच्चामा यो प्रवृत्ति विकास हुन्छ ।
-कतिपय परिस्थिती जो बच्चालाई मन पर्दैन, जस्तो कि कसैले उनको खेलौना लगेर भागे ।
स्ट्रोग इमोसनः डर, चिन्ता, रिस, शंका आदि
राम्ररी नियाल्ने हो भने टेन्ट्रम बच्चाको विकास प्रक्रियाकै एक स्वभाविक हिस्सा हो र यसबाट बच्न सकिदैन । यद्यपी प्रयास गरियो भने धेरै हदसम्म यसलाई नियन्त्रण गर्न सकिन्छ । ध्यान राख्नुहोस् हरेक बच्चा अर्काभन्दा भिन्न हुन्छन् । एउटा बच्चालाई यस किसिमको प्रवृत्तिबाट हटाउन जुन उपाय अपनाइन्छ, अर्को बच्चाका लागि ठ्याक्कै त्यही उपयोगी हुन्छ भन्ने छैन । यो कुरा बच्चा अनुसार पनि फरक हुन्छ ।
बच्चालाई व्यस्त राखौं
बच्चाहरुले एकै ठाउँमा रहँदा, एउटै कुरा गरिरहँदा दिक्क मान्न सक्छन् । जब उनीहरुलाई दिक्क लाग्न थाल्छ, त्यो क्रोधमा बद्लिन्छ । क्रोधकै कारण उनीहरु झगडा गर्न थाल्छन्, चिच्याउन थाल्छन् ।
त्यसैले बच्चालाई सकेसम्म दिक्क लाग्ने अवस्था आउन दिनै हुँदैन । नयाँ नयाँ काममा व्यस्त राख्नुपर्छ । उनीहरुसँग प्रेमिल व्यवहार गरौं । आफुपनि सहभागी भएर खेलौं । कुराकानी गरौं । नयाँ काम गर्न उत्साहित गरिरहनुपर्छ ।
कारण सम्झाउनुहोस्
यस्ता बच्चाहरु जिद्दी हुन्छन् । उनीहरु आफुले चाहेको कुरा पाउनैपर्छ भनेर जिद्दी गर्न थाल्छन् । सबै कुरा उनीहरुले भनेजस्तै पुरा गर्नुपर्छ भन्ने छैन । पुरा गरिदिन संभव पनि नहोला । जब तपाईंले बच्चाको माग पुरा गरिदिनुहुन्न, तब बच्चा क्रोधित हुन्छन् । उनीहरु आफ्नो जिद्दी छाड्दैनन् । यस्तो अवस्थामा बच्चाले माग गरेको कुरा किन जायज छैन वा आफुले पुरा गर्न सकिदैन भन्ने कुरा कारण खुलाएर वा बुझाएर भन्नुपर्छ । यस्तो कुरा उनीहरुले हठात् त सम्झन सक्दैनन् तर, क्रमस बुझ्दै जानेछन् । जबकी बच्चाले एकोहोरो माग गरिरहने र तपाईंले त्यसलाई बेवास्ता गरिरहने हो भने यसले बच्चाको भावनामा ठेस पुग्छ । यसले अर्को समस्या निम्त्याउँछ । त्यसैले बच्चालाई सम्झाई बुझाई गर्नुहोस् ।
बेलाबखत लामो सास लिने अभ्यास गराउनुपर्छ
एक पटक आफ्नो बच्चामा टेन्ट्रमको समस्या देखिएमा उनलाई व्यायाम एवं प्राणायामको अभ्यास गराउनुपर्छ । खासगरी लामो सास लिने र छाड्ने अभ्यास निकै लाभदायक हुन्छ । जब बच्चाले लामो सास लिन्छन्, उनीहरुको मन चंगा हुन्छ । वेचैनी हट्छ ।
सजाय दिने भुल नगरौं
बालबालिका अचानक क्रोधित भएर आवेगमा आउने गर्छन् भने तपाईंले आगोमा घिउ थप्ने काम गर्नु हुँदैन । अक्सर अभिभावक आफ्ना बालबालिकालाई कुटेर वा तर्साएर ठिक पार्ने सोच्छन् । बच्चा रिसाएमा, चिच्याएमा, कराएमा सजाय दिएर डर देखाउँछन् । तर, यो ठूलो भूल हुनेछ । किनभने बच्चामा त्यस किसिमको प्रवृत्ति विकास हुनुमा अभिभावककै दोष हुन्छ । अवोध बच्चाले जानेर वा चाहेर आफुलाई क्रोधित बनाएका हुँदैनन् । उनीहरुलाई कुटेर थप सताउनुभन्दा शान्त रहन दिनुहोस् ।
शान्त रहन दिनुहोस्
टेन्ट्रोमले समस्याग्रस्त बच्चालाई शान्त ठाउँ चाहिन्छ । जब उनीहरु आवेगमा आउँछन्, तब घरको वातावरण शान्त राख्नुहोस् । उनीहरुलाई एकान्त वा शान्त ठाउँमा रहन दिनुहोस् । क्रोधको अवस्थामा उनीहरुलाई गाली गर्ने, सजाय दिने, बलजफ्ती नियन्त्रण गर्ने भुल नगरौं । शान्त रहने व्यवस्था मिलाइदिनुपर्छ ।
बच्चालाई थोरै स्पेश दिनुहोस्
‘द डिसिप्लिन मिरेकल’का लेखक लिन्डा पर्सनको अनुसार कहिले काहीँ बच्चाहरु चिच्याएर, कराएर, तोडफोड गरेर आफ्नो आवेग वाहिर निकाल्न चाहन्छन् । यस्तो बेला उनीहरुलाई छुट दिनुपर्छ । जब उनीहरु चिच्याएर रुन्छन्, तब उनीहरुको सबै तनाव बाहिर आउँछ । एकछिनपछि आफै शान्त हुन्छन् ।
प्रेमिल अंकमाल
अज्ञात असुरक्षा, भयले पनि बच्चामा यस किसिमको समस्या देखिन्छ । बच्चामा यस किसिमको संकेत देखिएमा बेलाबखत प्रेमिल अंकमाल गर्नुपर्छ । लामो समय अंकमाल गरिरहँदा उनीहरुले सुरक्षित अनुभूत गर्छन् । स्रोत : अनलाईनखबर