‘नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ?’ : देउवा
गुगलपाटी संवाददाता काठमाडौंप्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने
बताएका छन् ।
संसदमा बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले भारतको पनि केही समस्या भए नेपालले समाधान गर्नुपर्ने बताए ।
‘नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ?’ देउवाले प्रश्न गरे , ‘कुटनीतिक तरिकाले कुरा गरेर सदाका लागि समस्या समाधान गर्नुपर्छ । एकले अर्कोलाई गाली गरेर हुँदैन ।’
बाढी र डुवान प्रभावित धेरै जिल्ला आफूले भ्रमण गरेको भन्दै देउवाले डुवान प्रभावित कतिपय क्षेत्रमा स्थानीय सरकारसमेत पुग्न नसकेको आरोप लगाए । ‘घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको हो,’ उनले भने, ‘तर केही गरेको छैन । बरु विदेशी एनजिओले गरेका छन् ।’
सरकार भनेको दुःख परेको बेला चाहिने भन्दै देउवाले यस्तो भयावह स्थितिमा सरकारले ध्यान नदिएको दावी गरे ।