प्रदेश सरकार र कृषि बैंक बिच समझदारी, अब कृषकलाई सहज अनुदान तथा ऋण

गुगलपाटी संवाददाता हेटौंडा
१५ श्रावण २०७६ ०७:३२

प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउन कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता भएको छ ।

प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच मंगलबार हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कृषि प्राबिधिक, बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुलाई सहुलियतपूर्ण कृषि ऋण उपलव्ध गराउनका लागि बैंकसँग समझदारी गरिएको हो । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्धमी व्यावसायीहरुलाई प्रवाह गरिने अनुदान कृषि विकास बैंकमार्फत हुने व्यवस्था गरिएको छ ।

मन्त्रालय र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै प्रदेश ३ का किसानहरुका लागि कृषि क्षेत्रमा व्यावसायिक रुपमा काम गर्नका लागि सहजता मिल्ने भएको छ । समझदारी पत्रमा हस्ताक्षर गरेसँगै दुबै कार्यालयलाई काम गर्ने बाटो खुलेसँगै काम गर्ने चुनौती पनि थपिएको छ ।

समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डाक्टर योगेन्द्र कुमार कार्की र कृषि विकास बैकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए ।