नेकपा मकवानपुरले टुङ्ग्यायो जिल्ला सचिवालय, स्थानीय तहको पनि भागबण्डा
गुगलपाटी संवाददाताहेटौंडाः नेकपा मकवानपुरले जिल्ला सचिवालय टुङ्ग्याएको छ । आज शनिबार बसेको जिल्ला कमिटिको वैठकले ४८ जनालाई सचिवालय सदस्य तोकेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज बसेको जिल्ला कमिटी बैठकले जिल्ला सचिवालय सदस्यहरु तोकेको छ । बैठकले ४८ जनाको जिल्ला सचिवालय बनाएको हो । तत्कालिन माओवादी केन्द्र र तत्कालिन एमालेका पहिलेको जिल्ला सचिवालय सदस्यलाई घटाएर ४८ सदस्य बनाइएको बैठकमा सहभागी नेकपा मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलले बताए ।
बैठकले एक महिना भित्रमा नेकपा मकवानपुरको स्थानीय तह कमिटि भाद्र मसान्त भित्र निर्माण गर्ने निर्णय गरेको उनले बताए । ४८ सदस्य जिल्ला सचिवालय सदस्यमा २६ जना तत्कालिन नेकपा एमालेका तर्फबाट र २२ जना तत्कालिन माओवादीका तर्फबाट तोकिएको छ । तत्कालिन एमालेमा ३४ जनाको जिल्ला सचिवालय सदस्य रहेको थियो भने तत्कालिन माओवादीकोे ३३ जनाको जिल्ला सचिवालय रहेको थियो ।
यसैगरी मकवानपुरका दशवटै स्थानीय तहमा तत्कालिन एमाले र तत्कालिन माओवादीका अध्यक्ष र सचिव रहने बिषयमा भाग लगाइएको छ । तत्कालीन एमालेले ६ वटा स्थानीय तहमा अध्यक्ष पाउने भएको छ भने माओवादीले ४ वटा स्थानीय तहमा अध्यक्ष पाउने भएको छ । तत्कालिन एमालेले हेटौंडा उपमहानगरपालिका, बकैया, इन्द्रसरोवर, भिमफेदी, कैलाश र गढी गाउँपालिकामा पार्टीको जिमेवारीमा अध्यक्ष पाउने भएको छ । तत्कालिन एमालेले अध्यक्ष पाएको माओवादीले सचिव पाउने छ यस्तै तत्कालिन माओवादीले मकवानपुरको थाहा नगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका र राक्सीराङ गाउँपालिकामा पार्टीको अध्यक्षको जिम्मेवारी पाउने छन् । ती नगरपालिका र गाउँपालिकामा तत्कालिन एमालेले सचिव पद पाउने भएको छ । नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको आजको जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्य केदार न्यौपाने इन्र्चाज विरोध खतिवडा केन्द्रीय सदस्य रहेका प्रदेश ३ का मुख्यमन्त्री, डोरमणि पौडेल, नेकपा मकवानपुरकी सह–इन्चार्ज तथा केन्द्रीय सदस्य कुमारी मोक्तान लगायतकाको सहभागिता रहेको थियो ।
विप्लव र कांगे्रसका कार्यकर्ता नेकपामा प्रवेश
यसै विच विप्लव नेतृत्वको नेकपा र नेपाली कांग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिवालय सदस्य ठाकुर सिंह थिङ र नेपाली कांग्रेसका कैलाश गाउँपालिकाका स्थानीय नेता रमेश घलान, मर्कुस प्रजा सहित ३० जना भन्दा नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरले जनाएको छ । नेकपा मकवानपुरको वैठकले पार्टी एकता प्रति खलल पुग्ने कुनै पनि गतिविधि क्षम्य नहुने समेत निर्णय गरेको सचिवालय सदस्य नविन सिग्देलले बताएका छन् ।