मकवानपुरका घरेलुको अधिकृत सहित मालपोतका दुई कर्मचारी घुससहित पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
२० श्रावण २०७६ ०७:११

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका एक अधिकृतसँगै मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा र खरिदारलाई अख्तियारले घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका आठौं तहका अधिकृत चन्दनकुमार अमात्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको विशेष टोलीले आइतबार ५० हजार रुपैयाँ घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

घुससहित समातिएका अमात्यमाथि अहिले अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, मालपोत कार्यालय, टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई पनि अख्तियारको विशेष टोलीले आइतबार नै घुससहित रंगेहात पक्रेको छ ।

लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकाकाका सेवाग्राहीको हराएको लालपुर्जा वितरणका लागि लिएको ८ हजार घुस सहित कुँबर र खरिदार पाण्डेलाई नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।