मकवानपुरमा बढे क्यान्सरका बिरामी

गुगलपाटी संवाददाता मकवानपुर
२९ श्रावण २०७६ ०६:२५

समाजसेवामा तीन दशकदेखि सक्रिय हेटौंडा उपमहानगरपालिका १४ कि जनप्रतिनिधि रुपा खुलाल ३ वर्षदेखि क्यान्सरसँग लडिरहेकी छिन्।

क्यान्सरलाई जित्न सके अझैं राजनीतिक र सामाजिक काममा सक्रिय हुने दरिलो अभिलाषा छ उनीमा। तर उपचारमा खर्चको दायराले समस्या सिर्जना गरेको छ।

क्यान्सर गाँजेपछि उनको दुवै स्तन काटेर फालिएको छ तै पनि संक्रमण फैलिईसकेका कारण निराकरण हुन सकिरहेको छैन। १३ वटा किमो लगाउँदा र अन्य औषधि उपचार गर्दा हालसम्म ४० लाखभन्दा बढी खर्च सकिएको परिवार स्रोतले जनाएको छ।

‘अब १८ वटा किमो लगाउनु पर्छ, एउटा किमो र त्यसपछिको औषधि गर्दा डेढलाख खर्च हुन्छ,’ उनका ज्वाईं रत्न लामाले भने। चिकित्सकका अनुसार अब कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ। हालसम्मको उपचार गर्दा उनी बस्दै आएको घर घडेरीलगायत सबै सकिएको र अहिले कोठा भाडामा लिएर बस्दै आएको ज्वाईं लामाले बताए।

खुलाल २०७२ सालबाट सम्बन्धविच्छेद गरेर २ छोरीकासाथ बस्दै आएकी छन्।

राजनीति र समाजसेवामा आवद्ध उनको नियमित आम्दानीको स्रोतसमेत छैन। छोरीहरूलाई पढाउन र घरखर्च गर्न साहैं्र समस्या भएको उनले दुःखेसो गरिन्। आफ्नो सम्पत्ति सकिएपछि बाँकी उपचार सहयोगीकै भरमा भैरहेको र अझै धेरै खर्च लाग्ने भएकाले दाताकै आशामा रहेको उनले बताइन्।

मकवानपुरकै भीमफेदी गाउपालिका २ का १८ वर्षीय राजु मिजार पनि क्यान्सरविरुद्ध लडिरहेका छन्। उपचारका लागि सहयोगी दाताको खोजिमा छ उनको परिवार। रक्त क्यान्सरबाट पीडित उनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको छ।

रक्त क्यान्सर प्रारम्भिक चरणमा रहेको र उपचारका लागि थप ११ लाख रुपैयाँ लाग्ने अस्पताललाई उद्धृत गर्दै राजुकी दिदी ठूलीमाया मिजारले बताईन्।

हेटौंडा १४ कि ११ वर्षीया रेणु दमाई पनि अहिले भक्तपुर क्यान्सर अस्पतालमा छिन्। कक्षा ५ बाट राम्रो अंकका साथ उत्तीर्ण भएकी थिइन् उनी। कुनै समस्या थिएन । स्कुल खुल्नासाथ कक्षा ६ मा नयाँ उमंग बटुलेर पढ्न जाने सपना साचेकी थिइन्। तर अहिले अस्पतालको बेडमा छिन्। गोडाको सानो घाउ समयमै निको नभएका कारण छाला क्यान्सर भएको उनका बुवा सीताराम दमाईंले बताए। ‘सरकारले सहयोग गर्ने १ लाख लिएर उपचार गरायौं अब अरु उपाय छैन,’ सीतारामले भने, ‘अब ८ लाख भए जीवन सम्भव छ, कहाँबाट ल्याउँ।’ बुवा सीताराम रिक्सा चालक हुन्।

निरज श्रेष्ठ अर्का क्यान्सर पीडित हुन्। एक वर्षअघि अचानक रिंगटा लागेर घरमा नै लडेपछि स्वास्थ्य परीक्षणका लागि काठमाडौं गएका मकवानपुरका उदयमान खेल प्रतिभा निरजले २ साता अगाडि संसार छाडे।

रक्त क्यान्सरको उपचारका लागि उनको परिवार तथा मकवानपुरे क्रिकेटले धेरै प्रयाससमेत गर्‍यो। मकवानपुरको क्रिकेटलाई बाहिर जिल्लासम्म पुर्‍याउन तथा क्रिकेटलाई एकेडेमीको रुपमा विस्तार गर्न निरजको विशेष भूमिका थियो। उनकै नेतृत्वमा पहिलोपटक मकवानपुरमा क्रिकेट एकेडेमीको समेत सुरुवात भयो।

लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा साउन १२ गते निधन भएको क्रिकेट संघ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिए।

३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रबद्र्धधनका लागि महत्वपूर्ण योगदान गरेका थिए। क्रिकेट मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ।

नेपाल सरकारले क्यान्सरलगायतल जटील प्रकारका रोगको उपचारमा राहतस्वरुप १ लाख रुपियाँ सहयोग गर्ने गरेको छ । हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार गत माघ २३ गतेदेखि असार मसान्तसम्म ६४ जनाले क्यान्सर उपचारका लागि १र१ लाख रुपियाँ राहत प्राप्त गरिसकेका छन्। सरकारले दिने राहतबारे जानकारी हुनेले यो राहत बुझेको आधारमा संङ्ख्या अझै एकिन हुन नसक्ने उनले बताए।

‘राहत लिनेमात्रै ६४ जना हुन्, नलिनेहरु अझै अरु पनि हुन सक्छन्,’ कार्कीले भने। खानपान र जीवनशैलीमा आएको फरकपनका कारण क्यान्सर दिनानुदिन बढिरहेको बताइन्छ। क्यान्सर रोगको उपचार महङ्गो हुने र जिल्लामा यसको उपचार सम्भव नभएका कारण अधिकांसको उपचारकै क्रममा ज्यान जाने गरेको पाइएको छ। स्रोत : नेपाल न्युज