रामेछापमा ५ हजार रोपनी जमिन बाँझै

गुगलपाटी संवाददाता रामेछाप
२९ श्रावण २०७६ ११:००

कुलो बनाएर ३ सय वर्ष पुग्यो सानीमदौ क्षेत्रमा खेती भएको । सधैं धान झुल्थ्यो । यस वर्ष जमिन बाँझै बस्यो । किसानहरू पुर्पुरोमा हात लगाएर बसेका छन् ।

किसानले सधैंझैं यो वर्ष पनि सानिमदौको सुवेदीटारमा धानको ब्याड राखे । कुलो बनाउने काममा सहभागी भए । जमिन खनजोत गरे । खोला आउला र रोपाइँ गरूँला भन्ने रहर पाले । तर, न खोला आयो न उनीहरूले छुपुछुपु रोपाइँ गरेर खुसी मनाउन पाए ।

स्थानीय पूर्णबहादुर सुवेदीले भने, ‘अब पानी परे पनि खेत नरोप्ने निर्णयमा पुग्यौं, अब रोपेर धान फल्दैन ।’ सुवेदीका अनुसार किसानहरूको भेलाले यस वर्ष धान नरोप्ने निर्णय गरेको छ । ‘मकै छर्ने कुरा भएको छ, मंसिरमा धानको भात हैन, फल्यो भने मज्जाले च्याँख्ला बजाउने हो ।

आकाशे पानी परेन भने त्यो पनि नपाक्ला । पानी नपर्दा पाखो बारीमा लगाएको मकै यस वर्ष पनि सुकेर नाश भए । मकै मरेपछि किसानका धेरै जमिन अहिले बाँझै देखिन्छन् ।

सानीमदौमा ३ सय वर्षअघि उपल्लो कुलो खनेको र त्यसपछि जग्गा बिराएर खेत बनाएको इतिहास छ । ‘उपल्लो कुलो खनेको ३ सय वर्ष पुग्दा यसै वर्ष मात्र त्यस क्षेत्रमा रोपाइँ नभएको हो,’ मच्छेडाँडीका ध्रुवप्रसाद सुवेदीले भने, ‘दैव लागेपछि कसको के लाग्छ ।’

रणजोरमा पानी नपलाएपछि नागथान, चालिसे, कालापानी, डिटार, उपल्लोटार, माझटार, बिरौटा, खाँदबारी र बोधने नामले चिनिने करिब ५ हजार रोपनी खेत बाँझै छ । तल्लो कुलोभन्दा मुनि केही किसानले धान रोपेका छन् । सानो जरुवाको पानीले रोपिएको उक्त खेतमा पानी पटाउने निहुँमा किसानबीच झमेला हुने गर्छ । पानीको वैकल्पिक स्रोत त्यस क्षेत्रमा छैन ।

‘रणजोरमा पानी नभएकोले खेत रोप्न नसक्दा किसानले धानको बीउ उखेलेर गाईभैंसीलाई दिन थालेका छन् । छिप्पिएर ब्याडमै सुक्न थालेको बीउ उखेलेर वस्तुलाई खान दिने किसानलाई आउने वर्ष बेसाएर चामलको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता परेको सुवेदी बताउँछन् ।

२० वर्षअघिसम्म रणजोरमा वर्षायाममा तर्न नसक्ने पानी हुन्थ्यो । रणजोर तर्न आँट गर्ने मान्छे बहादुर कहलिन्थ्यो । ‘वारपार आउने बाढीमा हेलिने कति तामाकोसीका पुगे, त्यसको हिसाब छैन । खोला तर्न नसक्ने वारिको वारि, पारिको पारि हुन्थे, खेत रोप्न नपाउने त कुरै छाडौं,’ स्थानीय कृष्णप्रसाद सुवेदी भन्छन्, ‘अब ती दिन सम्झनाका लागि मात्र भए, यसबीचमा सानो हुँदै रणजोर स्याप्पै भयो ।’

रामेछापको दक्षिणी क्षेत्रमा लगातार सुक्खा लागेको १५ वर्ष बित्यो । वर्षायाममा पर्याप्त पानी नपर्दा अधिकांश मूलहरू सुके । त्यसको प्रभाव पाखो जग्गामा परेकै थियो । कैयौं वर्षदेखि पाखो जग्गाको मकै किसानहरूले भित्र्याउन सकेका छैनन् । त्यही रणजोरको पानीले सुरुमा खेती हुन्थ्यो । ‘अब न खेतमा न पाखोमा,’ स्थानीय केशरबहादुर कार्की भन्छन्, ‘जग्गा भएर पनि खेती भएन, भोकै परिने भइयो ।’

मन्थलीकै बारीखेत र गैरीमा किसानहरूले तामकोसीको पानी तानेर केही वर्षदेखि खेत रोप्दै आएका छन् । तिनले पैसा खर्च गरेर पनि स्रोत पाएका छन् । तामाकोसी नजिकै छ ।
सानीमदौका किसानले त्यस्तो स्रोत पनि पाएका छैनन् । बोरिङ गर्दा पनि दिगो रूपमा आउने पानी भेटिँदैन भन्ने विश्वास किसानलाई छ । त्यसैले बोरिङको योजना बनाएका छैनन् ।

कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा झन्डै ७६ प्रतिशतरोपाइँ भएको तथ्यांक छ । दक्षिणी रामेछापका खेतहरू बाँझै छन् । रामेछापको लेकाली क्षेत्रका अधिकांश खेतमा रोपाइँ भएको छ । स्रोत : कान्तिपुरदैनिक