मकवानपुरमा बस दुर्घटना १को मृत्यु,१५ घाइते,देशैभर बढ्यो दुर्घटना
गुगलपाटी संवाददाताहेटौंडा।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ दारीमटारमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ,भने १५ जना घाइते भएका छन्।
मुत्यु हुने सर्लाही रामपुर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा रहेको प्रहरीले जनाएको छ।उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।
शुक्रबार बिहान २:३० बजे काठमाडौंबाट रौतहटको गौर तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।
दुर्घटनामा घाइते १५ जना मध्ये ८ जना डिस्चार्ज भइसकेको ४ जनालाई थप उपचारका लागि चितवन लगिएकोमा र ३ जनाको हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले बताएका छन्।
नेपालमा सवारी दुर्घटनामा हरेक दिन कम्तीमा पनि पाँच जनाको ज्यान जाने गरेको छ । सवारी दुर्घटनामा प्रत्येक दिन कम्तीमा पनि दुई दर्जन व्यक्ति घाइते भएर अंगभंग भइरहेका छन् । मुख्य गरेर चालकको लापर्बाही र सडकको दयनीय अवस्थाका कारण हरेक वर्ष हजारौंको ज्यान जाने र घाइते हुने गरेको तथ्यांकले देखाएको हो । सवारी दुर्घटनाका घटना पछिल्लो समय झनै बढ्दै गएको समेत तथ्यांकले देखाएको छ ।
२०७४ सालमा सवारी दुर्घटनामा १ हजार ८३६ जनाले ज्यान गुमाएका थिए । २०७५ सालमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेर २ हजार १६६ पुगेको छ ।यस्तै, २०७६ को २६ साउन सम्म नै ६८३ ले ज्यान गुमाएका छन् ।
२०७४ सालमा सवारी दुर्घटनामा ६ हजार ५४९ घाइते भएका थिए ।२०७५ मा ७ हजार ८६७ जना घाइते भएका थिए भने यस वर्षको २६ साउनसम्म २ हजार ७३१ जना सवारी दुर्घटनामा घाइते भएका छन्। सवारी विज्ञहरूले चालकको लापर्बाही, पुराना र थोत्रा सवारीसाधनको प्रयोग र सडकको दयनीय अवस्थाका कारण सवारी दुर्घटनाका घटना वृद्धि भएको जनाएका छन् ।