केपी शर्मा ओली: प्रधानमन्त्रीको स्वास्थ्यबारे नेकपाले स्पष्ट पार्ने, चिकित्सक भन्छन्: ‘दोस्रो पटक पनि मिर्गौला प्रत्यारोपण गर्न मिल्छ’

गुगलपाटी संवाददाता काठमाडौँ
३१ श्रावण २०७६ ०७:५३

प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था समान्य भएको र त्यसबारे सत्तारूढ नेकपाले शुक्रवार आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।

सिङ्गापुरमा डेढ साता बिताएर गत सोमवार प्रधानमन्त्री ओली स्वदेश फर्किएका थिए। फर्किएपछि उनले ट्विटरमा आफ्नो स्वास्थ्य सामान्य रहेको भन्दै परीक्षणमा संलग्न चिकित्सक तथा शुभेच्छुकलाई धन्यवाद दिएका थिए।

तर उनी अस्वस्थ भएको र पुन: उपचारका लागि बाहिर जाने तयारीमा रहेको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए।

प्रधानमन्त्री ओलीलाई बिहीवार ज्वरो आएपछि नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित गरिएको थिए।

एक दशकभन्दा अघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओली स्वास्थ्योपचारका लागि भन्दै सिङ्गापुर गएपछि उनको स्वास्थ्यस्थितिबारे जनचासो बढेको छ।

बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको र शुक्रवार पार्टीको सचिवालय बैठकमा उनी सहभागी हुने बताए।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल भन्छन्, “हिजो वहाँलाई थाकेर ज्वरो आएको थियो, तर अहिले अवस्था ठिक छ। कतिपय निराधार समाचार बाहिर आएका छन्। आज पार्टीको बैठक हुँदैछ त्यसले उहाँको स्वास्थ्य अवस्थाबारे स्पष्ट पार्छ।”

विसं २०६४ साल साउनमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो। त्यसयता उनले नियमित रूपमा स्वस्थ्य परीक्षण गराउँदै आएका छन्।

ओलीतस्वीर कपीराइटRSS

पछिल्लो पटक सिङ्गापुरमा गरिएको परीक्षणले प्रधानमन्त्रीको मिर्गौलाको क्रियाशीलता राम्रो रहेको देखाएको रिमालले उल्लेख गरे।

उनले भने, “प्रधानमन्त्रीले नियमित औषधि सेवन गरिरहनु भएको सबैलाई थाहा छँदैछ। मिर्गौला प्रत्यारोपणपछि जे गरिन्छ उहाँको हकमा पनि त्यही हो।”

“अप्ठेरो भएको बेला चिकित्सकहरूलाई बोलाएर देखाउने गर्दै आउनुभएको छ। आवश्यकता अनुसार पुन: जाँचका लागि कुनै पनि बेला जान सकिन्छ त्यसको टुङ्गो हुँदैन।”

Presentational white space

गत राति सामाजिक सञ्जाल ट्विटरमा रिमालले सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किएपछि पार्टी र सरकारको बाक्लो कामको धपेडीले प्रधानमन्त्री थकित भएको उल्लेख गरेका थिए।

उनले प्रधानमन्त्रीको स्वास्थ्यबारे “अडकलबाजीसहित निराधार” समाचार आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए।

मिर्गौला प्रत्यारोपणपछि हुने जटिलता के हुन्?

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने र अरूबाट लिइएको मिर्गौला आफ्नो शरीरले अस्वीकार नगरोस् भनेर आजीवन औषधि सेवन गर्नुपर्छ।

प्राय: तीन किसिमका औषधिहरू दिइने गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मिर्गौलारोग विशेषज्ञ डा. महेशराज सिग्देल बताउँछन्।

उनी भन्छन्, “त्यस्ता औषधिको साइड इफेक्ट पनि हुन्छ। तिनले सङ्क्रमणको सम्भावना बढाउने र धेरै वर्षपछि गएर विभिन्न किसिमको क्यान्सरको जोखिम बढाउने हुन्छ।”

प्रत्यारोपणपछि सधैँ ती औषधि खाइरहनुपर्ने र बिरामीको अवस्था निरन्तर अनुगमन गरिरहनुपर्ने उनी उल्लेख गर्छन्।

मिर्गौलाले काम नगर्दा मानिसहरूमा सुनिने, अरुचि हुने, रक्ताल्पता हुने, शरीरमा अम्लीय पदार्थ बढ्ने, सास फेर्न गाह्रो हुने आदि समस्या देखिने चिकित्सकहरू बताउँछन्।

मिर्गौला ‘फेल’ भएको अवस्थामा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ।

मिर्गौलातस्वीर कपीराइटCRICK INSTITUTE

प्रत्यारोपण गराएका व्यक्तिका मिर्गौलाको काम गर्ने क्षमता बिस्तारै ह्रास आउँदै जाने र पछि निष्क्रिय हुनेजस्ता जोखिम देखिन सक्ने चिकित्सकहरू बताउँछन्।

त्यसबाहेक प्रत्यारोपण गराएका व्यक्तिको अन्य रोग प्रतिरोध गर्ने क्षमतामा पनि कमजोर हुँदै जाने चिकित्सकहरूको भनाइ छ।

प्रत्यारोपण कति चोटि सम्भव?

त्यस्तो अवस्थामा मुटु र हड्डीसम्बन्धी समस्या देखिन सक्ने, सङ्क्रमण हुन सक्ने, रक्तचाप बढ्ने र रगतमा चिनीको मात्रा बढ्ने अनि क्यान्सर जस्ता जोखिम देखा पर्न सक्ने डा. सिग्देल बताउँछन्।

उनका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाड्यो भने अर्को पटक पनि मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ।

उनी भन्छन्, “साधारणतया मिर्गौलाले काम गर्न छाड्यो भने बिरामीमा मिर्गौला प्रत्यारोपण किन नगर्ने भन्ने हेरिन्छ। त्यही भएर सधैँ पहिलो विकल्प मिर्गौलाको प्रत्यारोपण नै गर्ने भन्ने हो। नसक्ने कारण केही छ कि भनेर जाँचिन्छ तर सकिन्छ कि सकिँदैन भन्ने हिसाबले हेर्ने गरिँदैन।”

मिर्गौलातस्वीर कपीराइटSCIENCE PHOTO LIBRARY

सबै ठिक भएको अवस्थामा भने लामो समयसम्म पनि प्रत्यारोपण गरेका बिरामी स्वस्थ नै रहने गरेका छन्।

प्रत्यारोपणपश्चात् ओली स्वयम् पनि स्वस्थ देखिएको र एकाध अवस्थामा मात्रै उनमा समस्या देखिएको चिकित्सकहरूको निष्कर्ष छ।

भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले ब्याङ्ककसम्म पुगेर त्यसपछि अन्य परीक्षण गराएका थिए।

किन देखा पर्छ मिर्गौलाको समस्या?

चिकित्सकहरूका अनुसार वंशाणुगत कारणबाहेक मधुमेह, उच्च रक्तचाँप, पत्थरी, सङ्क्रमणजस्ता कारणले मिर्गौलासम्बन्धी रोगहरू देखा पर्ने गर्छन्।

रगत, पिसाब लगायतको परीक्षणबाट मिर्गौलाको अवस्था थाहा पाउन सकिने र समयमा नै उपचार सुरु गर्दा मिर्गौलाले काम गर्न नसक्ने अवस्थालाई वर्षौँ पछिसम्म धकेल्न सकिने चिकित्सकहरू बताउँछन्।

प्रधानमन्त्री ओलीलाई नातामा बुहारी पर्ने चितवनकी अन्जान घिमिरेले आफ्नो एउटा मिर्गौला दिएकी थिइन्।

सम्पन्न व्यक्तिले आर्थिक प्रलोभनमा पारेर प्रत्यारोपणका लागि अङ्गदाता खोज्ने प्रवृत्ति देखिएकाले मानवअङ्गको किनबेच नियन्त्रण गर्न नेपालमा आफन्तहरूबाट मात्र अङ्ग लिन पाइने कानुनी व्यवस्था छ। स्रोत : विविसिनेपाली