कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी
गुगलपाटी संवाददाता मकवानपुरमकवानपुर। मकवानपुरगढी गाउँपालिका व्यावसायिकरूपले आधुनिक कृषितर्फ उन्मुख हुन थालेपछि उत्पादनसमेत वृद्धि हुँदै गएको छ ।
कृषिबाटै समृद्ध हुने उद्देश्यले यसलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो ।
प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गर्नाका साथै पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी भइरहेको उहाँको भनाइ थियो ।
दूध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको यस गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ ।
यसबाट मासिक रु एक करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिनुभयो ।
उक्त गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालन हुँदै आएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसान अत्यधिक रहेपनि उनीहरुको अभिलेख भने नगरिएको बताइएको छ ।
मालभोग जातको केरा अधिक उत्पादन हुने यस क्षेत्रमा आधुनिक खेती प्रणालीमार्फत दैनिक लाखौँको तरकारीसमेत बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् ।
यसैगरी राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताउनुभयो ।रासस