पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार

गुगलपाटी संवाददाता इस्लामावाद
२४ बैशाख २०७५ ०७:३९

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको जानकारी दिएका छन् । खानले भने, ‘गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको छ । उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । इकबाल खतरामुक्त हुनुहुन्छ ।’

प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडि बढेको उनले बताएका छन् । यसबारे थप जानकारी आउन बाँकी छ । यसैबीच प्रधानमन्त्री शाहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गृहमन्त्रीमाथिको आक्रमण शनिबार प्रधानमन्त्री अब्बासीले दिएको अस्वाभाविक टिप्पणीसँगै आएको छ । उनले निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने जस्तो हास्यास्पद तर्क दिएका थिए । यद्यपि उनको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागिता जनाउने बताएका थिए ।

अब्बासीले शनिबार आफ्नो दलको प्रतिस्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पिपिपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुने बताएका थिए । पाकिस्तानमा जुलाईमा संघीय निर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सत्ताधारी दल र विपक्षी दलबीचको जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ ।