गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक रोकियो

गुगलपाटी संवाददाता काठमाडौं
३ भाद्र २०७६ १०:३५

मंगलबार दिउँसो तीन बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तयारी नपुगेको भन्दै रोकिएको छ।

सबै सचिवालय सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेपछि बैठक रोकिएको हो।

‘प्रधानमन्त्री र महासचिवले गृहकार्य नपुगेको भन्नुभएकाले बैठक रोकियो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘बैठक भोलि ११ बजे बस्नेछ।’

सचिवालय बैठक रोकिएसँगै नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट निस्किएका छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले अरू सचिवालय सदस्यसँग कुराकानी गरिरहेका छन्।

दुई अध्यक्षको आजको बैठकमा पार्टीका विभिन्न आयोगको नेतृत्व टुंग्याउने तयारी थियो।

बरिष्ठ नेता माधवकुमार नेपालले भने आज लिखित रूपमा फरक मत दर्ता गर्ने तयारी गरेका थिए।

नेकपाको आइतबारको बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका नेपाललाई चौथोमा झारेर चौंथो वरीयताका खनाललाई तेस्रोमा उकाल्ने निर्णय गरेको थियो।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो निर्णय पढेर सुनाएपछि नेपालले आफू अपमानित भएको प्रतिक्रिया बैठकमै दिएका थिए। उनले सो बैठकमा जनवर्गीय संगठनका ईन्चार्ज र सहईन्चार्ज तोक्ने निर्णयमा पनि असहमति जनाएका थिए।