किट सकिँदा हेटौंडामा डेंगुको परीक्षण रोकियो
गुगलपाटी संवाददाता मकवानपुरमहिनायता फैलिएको डेंगुको संक्रमण हेटौंडामा अझै रोकिएको छैन । दैनिक डेंगु रोगको विरामी बढिरहेको समयमा परीक्षण किट भने सकिएको छ । किट सकिँदा सरकारी स्तरबाट निस्शुल्क रुपमा हुँदै आएको डेंगु परीक्षण दुई दिनदेखि रोकिएको छ ।
हेटौंडा अस्पतालबाट प्रारम्भिक परीक्षणपश्चात् डेंगु भएको शंका भएमा थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय सिफारिस गर्ने गरेको थियो । ‘हेटौंडा अस्पतालबाट सिफारिस भएर आएका बिरामीको किट अभावका कारण हामीले परीक्षण गर्न सकेका छैनौं ’ जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रयोगशाला प्रमुख भूपनारायण यादवले भने ।
कार्यालयका तथ्यांकअनुसार किट अभावका कारण करिब ६० जना प्राइभेट क्लिनिकतर्फ लागेका छन् । कार्यालयले किट सकिएको कारण डेंगु परीक्षण रोकिएको छ भनेर सूचना भित्तामा टाँसेर राखेको छ । प्रदेश सरकार, जिल्ला प्रशासन मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले निस्शुल्क रूपमा डेंगु परीक्षण गर्ने निर्णय गरे पनि किट अभावमा हाल बिरामीहरू निजी क्लिनिकमा धाउन बाध्य छन् । हालसम्म मकवानपुरमा दुई सय ५१ जनामा डेंगु भेटिसकिएको छ । कार्यालयले करिब पाँच सय ९५ जनाको डेंगु निस्शुल्क परीक्षण गरिसकेको छ ।
निजी क्लिनिकले डेंगु परीक्षणका लागि मनलाग्दी शुल्क लिएसँगै स्थानीय प्रशासनले एक हजार रुपैयाँ मात्रमा परीक्षण गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनपश्चात् तोकिएको शुल्कमा निजी क्लिनिकहरूले डेंगु परीक्षण गरिरहेका छन् । किटको मूल्य पाँच सय रुपैयाँदेखि सातसय रुपैयाँसम्म पर्ने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले किट सकिएको जानकारी पाएसँगै आफू सक्रिय भएर किट ल्याउन पहल गरिरहेको बताए । ‘प्रदेश जनस्वास्थ्य निर्देशनालयले खरिद गर्ने हामीले विभिन्न स्थानमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमति भएको थियो । तर, निर्देशनालयले किट किन्न ढिलाइ गर्दा यस्तो समस्या भयो,’ प्रजिअ तामाङले भने, ‘सम्बन्धित पक्षलाई यस विषयमा जानकारी गराई सकिएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंहका अनुसार प्रदेश र संघीय सरकारसँग किटको अभाव भएको विषयमा आफूले जानकारी गराइसकेको बताए । मकवानपुरको मनहरी, भीमफेदी, बकैया, वाग्मती गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकामा डेंगुका बिरामीहरू भेटिरहेको छ । हेटौंडामा डेंगु किटको अभाव भएसँगै कतिपय बिरामीहरू परीक्षण तथा थप उपचारका लागि चितवन तथा काठमाडौंतर्फ धाइरहेका छन् । स्रोत कान्तिपुरदैनिक