नयाँ एसपीको उपहार : बाघको छाला र हाड
गुगलपाटी संवाददाता मकवानपुर,२४ बैशाखप्रहरीले मकवानपुरको बागमती गाँउपालिका ४ जरायोटारबाट एक युवकलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको छ ।
संरक्षित वन्यजन्तु बाघको १ थान छाला र ९ किलोग्राम हड्डीसहित स्थानीय २९ वर्षीय चेतबहादुर वाइवालाई पक्राउ गरेको सोमबार पत्रकार सम्मेलन गरी मकवानपुर प्रहरीले जनाएको छ । उनीबाट ९ फिट ७ इन्च लामो र ३ फिट चौडाइ भएको बाघको छाला बरामद भएको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय फाँपरबारी मार्फत जिल्ला वन कार्यालय मकवानपुरमा बुझाएको छ ।
उनीमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।दोषी ठहरिएमा उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै हुने व्यवस्था रहेको मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । यसैबीच हालै मकवानपुरको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक श्रेष्ठले शान्ति सुरक्षा स्थापित गर्ने सवालमा कसैसंग संझौता नगर्ने बताएका छन् ।