प्रदेश २ को नाम ‘जानकी’ राख्ने निर्णय
गुगलपाटी संवाददाता जनकपुरधामनेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ को नाम जानकी राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी प्रदेश राख्ने सर्वसम्मतीले निर्णय भएको हो । बैठकले प्रदेश राजधानीमा मिथिला परिक्रमासहित धनुषा राख्ने निर्णय गरेको सो पार्टीका सांसद मञ्जु यादवले जानकारी दिइन ।
यस सम्बन्धमा दूईदिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल जनकपुरधाम आउँदा उनकै उपस्थितिमा समेत छलफल भएको थियो ।
समाजवादी पार्टीले पनि मधेश प्रदेश र जनकपुरधाम राजधानी राख्ने निर्णय गरेको छ । सो पार्टीले अहिले केही बेरमा प्रदेशसभामा सो सम्बन्धी प्रस्ताव दर्ता गराउने भएको छ ।
फागुन महिनामा गरिने मिथिला माध्यमिकी परिक्रमाको सबै क्षेत्र र धनुषा पूरै जिल्लाका भूभागलाई राजधानीको रुपमा प्रस्ताव गर्ने राजपा संसदीय दलको बैठकबाट निर्णय गरिएको प्रमुख सचेतक साहले बताए । ‘मात्र जनकपुरधाम भनेर हुन्न जनकपुरको सीमा पनि हामीले तोकेका छौं,’ उनले भने, ‘अन्य क्षेत्रको पनि विकास हुन सकोस् भन्ने सोचेर राजधानीको नाम जनकपुर नै रहने तर त्यसको सीमा पनि परिभाषित गरिएको छ ।’