संघिय मन्त्री हेटौंडा आउँदा प्रदेशका एक दर्जन कर्मचारी अघि पछि
गुगलपाटी संवाददाता
हेटौंडा : संघिय सरकारका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल “बलदेव” शुक्रबार बिहान हेटौंडा आईपुगे । बिहान हेटौंडाको एउटा महँगो होटलमा खाना खाएर विभिन्न उद्घाटन र निरिक्षण निस्केका खनालको प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडामा छुट्टै रवाफ थियो । प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मन्त्रालयका सचिव डा. योेगेन्द्र कुमार कार्की र नेकपाका नेता केदार न्यौपाने सहित होटलबाट निस्केर कार्यक्रम तर्फ अगाडी बढेका हुन् ।
नेपाल प्रहरीको स्कटिङ सहित हिँडेका मन्त्री खनालको गाडी अगाडी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीको गाडी, मन्त्री खनालको पछाडी प्रदेश मन्त्री दावा दोर्जे लामाको गाडी, त्यसपछि उप सचिव, निर्देशक सहित लावालस्कर लिएर मन्त्री खनाल हेटौंडामा विभिन्न कार्यक्रममा पुगे । मन्त्रीका अगाडी पछाडी प्रदेश ३ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र निर्देशनालयका मात्रै करिब एक दर्जन कर्मचारीहरु रहेका थिए । उनको जम्बो टोलीले दुई उद्घाटन सहित अन्य ४ वटा कार्यक्रममा सहभागिता जनाउन भ्यायो ।
खनालले शुक्रबार हेटौंडाको दिव्य सेवा निकेतन (वृद्धाश्रम)को कृषि पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाटन गरे । प्रदेश सरकारको कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीको २५ लाख र संस्थाको १५ लाख ८८ हजार लगानीमा बनेको ३ वटा टनेल, विउ विज भण्डार कोठा निर्माण , गोठ तथा भकारो सुधार, गोबर ग्याँस निर्माणको उद्घाटन तथा अवोलकन गरे । दिव्य सेवा निकेतनमा उद्घाटन पछि १० मिनेट भाषण गरेर मन्त्री खनाल हेटौंडा औद्योगिक क्षेत्रको माटो तथा मल परिक्षण प्रयोगशालाको निरिक्षणमा पुगे त्यहाँ अवलोकन गरेर औद्योगिक क्षेत्रकै पशु वधशालाको आधा घण्टा अवलोकन गरे । त्यो कार्यक्रम सकिने वित्तिकै हेटौंडा १३ पदमपोखरीमा प्रदेश सरकारको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट १६ लाख ६३ हजार सहयोगमा सञ्चालन भएको बाख्रा फार्म अवलोकन गरे । सुन्दर बहुउद्देश्ययी कृषक समुहले सञ्चालन गरेको बाख्रा फार्मको निरीक्षणमा पुगेर खादा र मालाको स्वागत पश्चात उनी सहितको टोली हेटौंडा–१२ पदमपोखरीको एग्रिगेट हाउसको उद्घाटनमा पुग्यो । वडाध्यक्ष ललित घलानले प्रदेश सरकारको अनुदानमा सञ्चालन गरेका एग्रिगेट हाउसमा गोलभेंडाको विरुवा रोपेर त्यहाँ २० मिनेट भाषण गर्न भ्याएका मन्त्री खनालले लगत्तै हेटौंडा ११ थानाभ¥याङमा स्थापना गर्न लाaगिएको थोक बजार स्थलको स्थलगत अवलोकन गरे ।
स्थलगत अवलोकन पश्चात प्रदेश ३ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएका उनी बेलुका मुख्यमन्त्री सहित प्रदेशका मन्त्रीहरु सँगको भेटघाट कार्यक्रम समेत भएको बुझिएको छ । प्रदेश मन्त्रालय अन्तर्गत रहेका कर्मचारीको टोलीले शुक्रबार भएपनि ६ बजे सम्म मन्त्री छोड्न सकेनन् ।