कुशल नेतृत्वको परिणाम : हेटौंडा खानेपानी बोर्ड सबै क्षेत्रमा अगाडी
गुगलपाटी संवाददाता
मकवानपुरको हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड सबैक्षेत्रमा अगाडी छ । केहि समय अगाडी स्तनपान कक्षको निर्माण गरेर छुट्टै उदारहण पस्केको बोर्डले फेरी ई सेवाबाट पैसा तिर्न सक्ने सुविधा बनाएको छ । बोर्डको अध्यक्षमा वरिष्ठ पत्रकार प्रताप विष्ट आएदेखि वोर्डले काँचुली फेरेको हो ।
उस्तै आजैबाट बोर्डले डिजिटल सुचना पार्टी पनि सञ्चालनमा ल्याएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दे हेटौंडाका मेयर हरिबहादुर महतले कंक्रिट ढलान कम गर्ने बताएका छन् । सडकको टिकाउका लागि कंक्रिट सडकमा जोड दिएको हेटौंडा उपमहानगरले पानीको रिचार्ज प्रक्रियामा समस्या आएपछि कंक्रिट सडकको निर्माण घटाउने भएको छ । गत आर्थिक बर्षमा उपमहानगर क्षेत्रमा ढलान सडक मात्र निर्माणमा जोड दिएको उपमहानगरले चालु आर्थिक बर्षबाट ढलान निर्माण कम गर्ने जनाएको छ ।
हेटौंडामा खानेपानीको व्यवस्थापन गर्दै आएको हेटौंडा खानेपानी बोर्डले कंक्रिट सडक निर्माण र बढ्दो शहरीकरणले भूमिगत पानीको रिचार्ज प्रक्रियामा असर पुर्याउँदा उत्पादन घटेको बताएपछि मेयर हरिबहादुर महतले कंक्रिट सडक निर्माणको क्रम घटाइने बताएका हुन् । कालोपत्रे सडक टिकाउ कम हुने भएकाले कंक्रिट सडक निर्माणमा जोड दिइएकामा अब संबेदनशीलतको आधारमा कम गर्दै लैजाने उनले बताए ।
शहरीकरणसँग कंक्रिट प्रयोगको मात्रा अधिक भएर जमिनमा परेको पानी भित्र नजाँदा पानीको उत्पादनमा कमी आएको बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । बोर्डले सहज खानेपानी आपुर्तिका लागि हेटौंडाका बिभिन्न ठाउँमा गरेको डिपबोरिङबाट पानी निकालेको छ । डिपबोरिङ खन्नुपूर्व गरिएको अनुमानजति पानी नआएको उनले बताए । बोर्डले हेटौंडामा दैनिक १७ हजार १ सय ६१ धाराबाट १ करोड ३५ लाख ९२ हजार लिटर पानी वितरण गरिरहेको छ भने २ हजार १ सय १० नयाँ धारा जडानको लागि निवेदन आएको जनाएको छ ।
बोर्डको बार्षिक आम्दानी १३ करोड
हेटौंडा खानेपानी बोर्डले गत आर्थिक बर्षमा १३ करोड ४४ लाख ६३ हजार रुपियाँ आम्दानी गरेको छ । बोर्डले १० करोड ३३ लाख ९१ हजार रुपियाँ खर्च गरेको जनाएको छ ।
बोर्डले आन्तरिक आयतर्फ खानेपानी महशुल वापत ७ करोड ८७ लाख ६६ हजार, जरिवाना, नयाँधारा र मिटर जडानबाट १ करोड १६ लाख ७ हजार आम्दानी गरेको छ । बाह्यतर्फ उपमहानगरबाट सेवा विस्तारका लागि ९७ लाख ६८ हजार रुपियाँ आम्दानी गरेको छ ।
चालु खर्चमा बोर्डले कर्मचारी तलब भत्तामा २ करोड ६७ लाख ७८ हजार, सेवा सञ्चालन, बिद्युत महशुल, मर्मतमा ३ करोड ८१ लाख ७२ हजार खर्च गरेको छ भने पुँजीगतमा डिपट्युवेल सञ्चालन निर्माण, कार्यालय सामग्री खरीदमा ३ करोड ८४ लाख ४० हजार खर्च गरेको बोर्डले जनाएको छ ।