‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ’ : प्रचण्ड
गुगलपाटी संवाददाता काठमाडौं६ आश्विन २०७६ ०६:३३
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले अर्को आन्दोलन, अभियान र मिसन चाहिएको बताएका छन्।
दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने बताए।
‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले भने,‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ।’
उनले अहिले विकासका कुरामात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए।
‘मीठा मीठा कुरा भन्न सजिलो छ। हिजो राजारमहाराजाहरूले पनि विकासका मूल फुटाउने कुरा त गरेकै हुन्। तर भयो अर्कै,’ प्रचण्डले भने,‘ भन्ने ठूलो कुरा होइन। के गर्ने भन्ने ठूलो कुरा हो। भन्न त जे पनि सकिन्छ।’
नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा प्रचण्डले जोड दिए।