काँग्रेसले हेटौंडामा विरोध र्याली निकाल्ने

गुगलपाटी संवाददाता हेटौंडा
६ आश्विन २०७६ १३:२३

नेपाली काँग्रेसको दोस्रो चरणको देशव्यापी जागरण अभियानको समापनको दिन मंगलबार हेटौंडामा वृहत विरोध र्याली निकाल्ने भएको छ । १५ दिनसम्म चलेको दोस्रो चरणको अभियानअन्तर्गत मंगलबार सरकारका गलत प्रवृत्तिको भण्डाफोर गर्दै विरोध पदर्शनको कार्यक्रम राखिएको पार्टी प्रवक्ता प्रदिप कोइरालाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट निस्कने विरोध ¥याली बजारको विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर समापन हुनेछ । कार्यक्रममा नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँलगायत अभियानको लागि खटाइएका केन्द्रीय प्रतिनिधिको समेत सहभागिता रहने प्रवक्ता कोइरालाले बताए ।

उनका अनुसार भदौ २४ गदे विपी स्मृति दिवसको दिनदेखि सुरु भएको दोस्रो चरणको अभियानको क्रममा काँग्रेसले ४ वटै प्रदेश निर्वाचन क्षेत्र केन्द्रित गरेर वृक्षारोपणदेखि पार्टीको संगठन निर्माणसम्मको काम गरेको छ । वर्तमान सरकारले गरेका गलत क्रियाकलापको जनतामाझ भण्डाफोर गर्दै काँग्रेसले गरेका कामहरुको बारेमा जनतामा जानकारी गराइएको कोइरालाले बताए ।

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, सरकारले गरेका गलत कामहरुको भण्डाफोर, वडा स्तरीय अन्तरक्रियालगायतको कार्यक्रम गरेको जनाएको छ । अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु पनि गरिएको प्रवक्ता कोइरालाले बताए ।

दोस्रो चरणको अभियानको क्रममा क्षेत्र नम्बर १ ‘क’ मा प्रेमचन्द्र दाहाल, १ ‘ख’ मा ऋषिराम घिमिरे, २ क मा प्रतिमा गौतम र २ ख मा शेषनाथ अधिकारीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको थियो ।

नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता कोइरालासहित काँग्रेस जिल्ला सदस्य राजीव सुबेदी, अमृता थापा, क्षेत्र नम्बर  १ ख का उपसभापति गणेशहरि उप्रेती, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा, महिला संघकी सचिव निलम देवकोटा, क्षेत्रीय समिति सल्लाहकार राधा कोइरालालगायतको सहभागिता रहेको थियो ।