कृषि विकास बैंक ह्याक प्रकरण : थप एक जना स्याङजाबाट पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
९ आश्विन २०७६ ०८:२८

 कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामकृष्ण भुसाल छन्।

उनी प्रतिक्षा निमार्ण सेवाको प्रोपाइटर रहेको प्रहरीले जनाएको छ। भुसाललाई प्रहरीले आज बिहीबार स्याङ्जाबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए। उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट भएको प्रहरीले जनाएको छ।

योसँगै बैंक ह्याक प्रकरणमा पक्राउको संख्या १३ पुगेको छ। अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई हिजो बुधबार सार्वजनिक गरेको थियो।

घटनामा संलग्न भनिएको मुख्य अभियुक्त अफ्रिकन मुलका काले भन्ने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ। कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए।