नेकपा हेटौंडाका १९ वटै वडाका अध्यक्ष र सचिवले लिए शपथ
गुगलपाटी संवाददाता
हेटौंडाः हेटौंडा उपमहानगरपालिका अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष र सचिवले शपथ ग्रहण गरेका छन् । सानोपोखरास्थित नेकपा कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा मकवानपुरका सहइञ्चार्ज कुमारी मोक्तान, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी लगायतका नेताहरुको उपस्थितिमा उपमहानगरका वडाध्यक्ष र सचिवहरुले सपथ लिएका हुन् ।
नेकपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष रघु आचार्यको सभाध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा जिल्लाका नेताहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै नेकपा मकवानपुरकी सहइञ्चार्ज कुमारी मोक्तानले कम्युनिष्ट पार्टीका कार्यकर्ताले समाजमा भएको कुरिती हटाउन पहल गर्नुपर्ने धारणा राखिन् । सरकारमा जाँदैमा वा भौतिक विकास गर्दैमा सामाजिक रुपान्तरण नहुने भन्दै उनले कस्तो संस्कार हामीले बसाल्ने हो त्यही नै महत्वपूर्ण हुने धारणा राखिन् । कम्युनिष्ट कार्यकर्ता वा कम्युनिष्ट पार्टीको सदस्यले सँधै गलत चिजको बिरुद्ध लाग्नुपर्नेमा सहइञ्चार्ज मोक्तानले जोड दिइन् ।
प्रत्येक वडामा १०÷१५ दिनभित्र वडा कमिटी निर्माण गरिसक्न पार्टीले सर्कुलर गरेको विषयमा पनि नेताहरुले वडाध्यक्ष र सचिवहरुलाई स्मरण गराएका थिए ।