४ सय छात्रवृत्ति कोटामा १६ सयको आवेदन
कुमारी स्याङ्बोहेटौडा : छोरी बुहारीहरुको उच्च शिक्षा अध्ययनको लागि बागमती प्रदेश सरकारले नयाँ कार्य योजना सुरुवात गरेको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा निर्देशनालयले बागमती प्रदेशका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत् छोरी बुहारीहरुलाई छात्रवृत्ति वितरण सुरु गरेको हो ।
बागमती प्रदेश भित्र स्थायी बसोबास भएका वा विवाह गरि बागमती प्रदेश भित्र प्रदेशभित्रका सामुदायिक क्याम्पसमा स्नातक वा स्नाकोत्तर तहमा अध्ययनरत छात्राहरुले छात्रवृत्ति आवेदन दिन पाउने छन् । चालु आर्थिक वर्षमा १ हजार ६ सय जना छात्राहरुले आवेदन फारम भरेका छन् । तीमध्ये ४ सय जनालाई छात्रवृत्ति उपलब्ध गराउने प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयका कामु निर्देशक चन्द्रप्रसाल लुइँटेलले बताए । प्राविधिक रुपमा बागमती प्रदेश भित्रका महिलाहरुको उच्च शिक्षा प्रोत्साहन गर्नाको लागि यस कार्यक्रम गरेको लुईटेलको भनाई छ । आवेदन फारम भर्ने मध्ये दलित, जनजाति, सहिद, बेपत्ता परिवारका विद्यार्थी, अपाङ्ग, सिमान्तकृत, अति सिमान्तकृत, दुर्गमको क्षेत्रको लागि, तल्लोस्तरमा छात्रवृत्ति पाएको भए माथिल्लो स्तरमा पनि छात्रवृत्ति प्राप्त गर्ने, जुन तहमा छात्रवृत्तिको लागि आवेदन फारम भरिएको हो त्यसमध्ये प्रथम हुनेलाई छात्रवृत्ति दिने उनले जानकारी दिए ।
छात्रवृत्ति वितरण सुरु
निर्देशनालयले छनौट भएका छोरी बुहारीहरुलाई माघ १० गतेबाट छात्रवृत्ति वितरण सुरु गरिसकेको छ । यो नेपालको पहिलो र नयाँ अभ्यास हो । यसको लागि नेपाल सरकारले १ करोड बजेट उपलब्ध गराएको छ । स्नाकोतर, प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनरत छोरी बुहारीको लागि ५ जनाको छात्रवृत्ति कोटाको लागि १ लाख ७६ हजार बजेट छुट्याएको छ । त्यस्तै स्नाकोत्तर, विज्ञान तहमा १० जनाको कोटाको लागि ५२ हजार बजेट रहेको छ । स्नाकोत्तर, विज्ञान विषयबाहेक अन्य विषयको लागि १०० जनाको कोटामा २५ हजार बजेट छ । स्नातक, विज्ञान विषयमा २० जनाको छात्रवृत्ति कोटाको लागि ४० हजार र स्नातक, विज्ञान विषय बाहेकको तहमा २ सय ६५ कोटाको लागि २० हजार मात्र बजेट रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।