बागमती प्रदेशसभामा अब सांसद र मन्त्रीबीच सवाल जवाफ

गुगलपाटी संवाददाता
२१ माघ २०७६ ११:१२

हेटौँडाः बागमती प्रदेशको प्रदेशसभामा नयाँ अभ्यास हुने भएको छ। प्रदेशसभाको आगमी वैठक माघ २७ गतेबाट बस्दै छ। आगामी बैठकबाट सरकार र सांसदबीच प्रश्‍नोत्तर कार्यक्रम हुने प्रदेशसभा सचिव रामशरण घिमिरेले बताए। संसदको प्रश्‍नोत्तरमा प्रदेशसभा सदस्यहरूले सरकारलाई प्रश्‍न सोध्ने सरकारका सम्बन्धित मन्त्री वा मुख्यमन्त्रीले जवाफ दिनेछन्। प्रदेशसभामा आफ्नो क्षेत्र, समसमायिक विषय र राजनीतिक विषयलगायतमा प्रदेशसभा सदस्यहरूले सरकारलाई प्रश्‍न सोध्न सक्नेछन्।

विधेयक संख्या ५० बागमती प्रदेशसभाको सचिवालयमा हालसम्म ५० वटा विधेयकहरू दर्ता भएका छन्। प्रदेशसभामा सोमबार प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएसँगै विधेयक संख्या ५० पुगेको हो। दर्ता गरिएको विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान, व्यवहार, सुरक्षा र सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको हो। सबै बैठकमा आउने सांसद श्रेष्ठ मात्रै चारवटा अधिवेशन सकाएको प्रदेशसभाको हालसम्म १ सय २७ वटा बैठक बसेको छ। अहिले पाँचौ अधिवेशन चलिरहेको छ। हालसम्म सबै बैठकमा आउने एकमात्रै सांसद रहेकी छिन्। माघ १८ गते दुई वर्ष पुगेको बागमती प्रदेशसभामा १ सय १० सांसदमध्ये दुईवटै आर्थिक वर्षको बैठकमा नियमित उपस्थित हुने प्रदेशसभा सदस्य देवकी श्रेष्ठ मात्रै भएकी हुन्।

ललितपुरकी श्रेष्ठ नियमित बैठकमा आउँदा भने घरकै छेउमा प्रदेशसभा भवन रहेका मकवानपुरका प्रदेशसभा सदस्य नियमित उपस्थित हुन सकेनन्। यस्तै दोस्रो वर्षको बैठकमा नियमित उपस्थित हुने प्रदेशसभा सदस्यहरू देवकी श्रेष्ठ, मैना अछामी र सरस्वती बस्नेत रहेका छन्। उनीहरूलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको थियो। बागमती प्रदेशसभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने जनाइएको छ। प्रदेशसभाको बैठक माघ १७ गते बसेर स्थगन भएको थियो।
स्रोतः थाहाखबर