कानुन समितिले देशभरका कारागारको अवस्था अध्ययन गर्ने

गुगलपाटी संवाददाता
२४ माघ २०७६ १३:५७

हेटौंडाः प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सातवटै प्रदेशमा रहेका कारागारको अवस्था अध्ययन गर्ने भएको छ। शुक्रबार बसेको समितिको बैठकले सातवटै प्रदेशका कारागार निरीक्षण गर्ने निर्णय गरेको हो। कारागारको अवस्था सन्तोषजनक नभएको भन्ने खबर सार्वजनिक भएको अवस्थामा कारागारभित्र बस्ने बन्दीको अवस्थाका विषयमा समितिले निरीक्षण गर्ने निर्णय गरेको समिति सभापति कृष्णभक्त पोखरेलले बताए। कारगारभित्र बस्ने बन्दीलाई आवास नपुगेको, उनीहरूको स्वास्थ्य अवस्था राम्रो नभएको र उनीहरूले कानुनी सहायतासमेत भनेको समयमा नपाएको गुनासो बढेकोले कारागारको निरीक्षण गरिने उनको भनाइ छ। संविधानले सम्बोधन गर्न नसकेका विषयमा जनताका गुनासा सुन्न र कार्यान्वयनको अवस्थाका विषयमा बुझ्नका लागि संवैधानिक सम्मेलन गर्ने निर्णय पनि समितिले गरेको छ। संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरू एकै ठाउँमा बसेर सम्बाद गर्नेगरी बागमती प्रदेशको चितवनमा संवैधानिक सम्मेलन गरिने उनले बताए।
स्रोतः थाहाखबर