नेपालमा कोरोनाको असर
गुगलपाटी संवाददाताहेटौंडाः जनवरी २९ मा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयेससले चीनको भ्रमण सकेर फर्किने बेला कोरोना भाइरस नियन्त्रणमा चीनको इमानदार प्रयासको प्रशंसा गरे । तर, त्यसको भोलिपल्ट उनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरेसँगै कोरोनाको उद्गमस्थल वुहानबाट विभिन्न देशले आफ्ना नागरिक फिर्ता गरिरहेका छन् भने, कोरोना भाइरस चीनभरि र कतिपय देशमा प्रवेश गरिसकेको छ । यस भाइरसले सन् २००३ मा चीनमै फैलिएको सार्सको झल्को दिने गरी विश्वलाई नै स्तब्ध पारिरहेको छ ।
चिनियाँ वसन्त चाड अर्थात् नयाँ वर्षको बिदाको एक साता करिब ३ अर्ब चिनियाँले आवतजावत गर्छन् भन्ने तथ्यांक छ । यो ओहोरदोहर विश्व पर्यटनकै सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । वसन्त चाडको बिदाका बेला कोरोना संक्रमण फैलेपछि र वुहानसहित विभिन्न सहर ‘लक डाउन’ गरिएपछि आम्दानीको स्रोत ठ्याप्पै भयो, जसको प्रत्यक्ष असर धेरै मुलुकमा परेको छ ।
गरिबीमाथि अन्तिम धक्का दिने यत्न गरिरहेका बेला कोरोना भाइरसको भयका कारण धेरथोर असर पर्ने देखिन्छ । यद्यपि चिनियाँ शक्तिलाई अहिल्यै कम आँक्नु अलिक हतारो हुनेछ । चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख ल्यान वेइल्याङले फेब्रुअरी ३ मा बेइजिङमा भने, ‘हालसम्म कोरोनाका कारण चिनियाँ अर्थतन्त्रमा देखिने प्रभाव अस्थायी प्रकृतिको हो ।’
कोरोना भाइरसका कारण चीनमाथि विश्व–सहानुभूति त बढेको छ, तर हातेमालो गर्नेभन्दा धेरै देशले आफ्ना नागरिक फिर्ता लगेर ढुक्क हुने मनस्थिति पालेको देखिन्छ । त्यसमाथि सबैभन्दा छिटो आफ्ना नागरिक फिर्ता लैजाने र आफ्ना मुलुकमा चिनियाँप्रतिको रवैया प्रस्तुत गर्ने पश्चिमा मुलुकहरूले चीनको कठिन समयमा दोषारोपण गर्न थालिसकेका छन् । चीनले छात्रवृत्तिमा आएका विद्यार्थी वा चीनप्रति भरोसा गरेर भित्रिएका विदेशीको राम्रो हेरचाह गरिरहेको छ । बदनामीबाट जोगिन चीनले अलिकति शक्ति यतापट्टि पनि खर्च गर्नुपर्ने देखिन्छ ।
कोरोना भाइरसको बाछिटाबाट छिमेकी नेपाल प्रभावित नहुने कुरै भएन । भारतपछि सर्वाधिक चिनियाँहरूले नेपाल भ्रमण गर्छन् । २०१९ मा मात्रै झन्डै १ लाख ७० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । कोरोनाका कारण केरुङमार्ग लगायत चीनसँगका स्थलमार्ग बन्द गरिएको छ भने, हवाई यातायात पातलिँंदै गएको छ । यसबाट नेपालमा चिनियाँ पर्यटक ओइरिने स्वर्ण अवधि गुज्रिएको छ ।
भ्रमण वर्षमा चीनबाट कम्तीमा ५ लाख पर्यटक नेपाल भित्रिने अपेक्षा छ । यस प्रयोजनका लागि नेपालले चिनियाँ अभिनेत्री स्वी छिङलाई सद्भावना दूत नियुक्त गरेर यथोचित प्रयास पनि गरिरहेको छ । जनवरी पहिलो साता बेइजिङस्थित नेपाली दूतावासले पनि स्वी छिङ लगायत नेपालबाट सगरमाथा आरोहण गर्ने पर्वतारोही, पर्यटन व्यवसायी लगायतको उपस्थितिमा चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा निम्तो दिएको थियो । नेपालस्थित चिनियाँ राजदूत होउ यानछीले समेत मोडलिङ लगायतका गतिविधि गरेर चिनियाँ नागरिकलाई नेपाल घुम्न प्रेरित गरिरहेकी थिइन् । तर कोरोनाको हल्ला चल्नेबित्तिकै चिनियाँहरूले नेपाल भ्रमणको टिकट रद्द गरेबाट पर्यटन क्षेत्र निराश हुन थालेको छ । नेपालबाट चीनको छोङछिङ, छाङ्शा लगायतका सहरमा प्रत्यक्ष उडान थालेको हिमालय एयरलाइन्सका तालिका नै तलमाथि भयो भने चिनियाँ हवाई कम्पनीहरूले नेपालतर्फको उडानमा कटौती गरे ।
विभिन्न देशले चीनबाट नागरिक फिर्ता लगेपछि अलग्गै निगरानी ९आइसोलेसन० मा राख्ने व्यवस्था गरेर सतर्कता अपनाइरहेका बेला नेपालसँग न्यूनतम पूर्वाधार पनि नभएको र त्यसका लागि छिटोछरितो पहल नगरेको भन्दै नेपाल सरकार आलोचित भएको छ । चिनियाँ विमानबाट काठमाडौं उत्रिने नागरिकप्रति ध्यान दिनु नेपाल सरकारको कर्तव्य हुन्छ । विदेशी पर्यटकमाथि नजर राख्नमा पनि सरकारको केही शक्ति खपत हुने देखिन्छ ।
कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाप्रति ध्यान दिनु नेपाल सरकारको जिम्मेवारी हो । चीनमा रहेका विद्यार्थी वा अन्य कामका सिलसिलामा गएका नेपालीहरूलाई आइपर्यो भने स्वदेश फर्काउनु, प्रभावित भएरनभएको टुंगो नलागुन्जेल उनीहरूको उचित हेरचाहको वातावरण बनाउनेतर्फ सरकार चनाखो हुनुपर्छ ।
कोरोना भाइरसका कारण नेपाल र चीनबीचको व्यापारिक आयात–निर्यात वर्षको सुरुमै प्रभावित भएको छ । चीनको तिब्बतबाट नेपाल हुँदै दक्षिण एसियाको बजार शिथिल हुँदै गएको छ । नाकाहरू बन्द गरिएकाले छोटो समयमै पनि ठूलो घाटा लाग्ने देखिन्छ । तिब्बतले नेपालतर्फको व्यापारलाई उसको अन्तर्राष्ट्रिय कारोबारको सबैभन्दा ठूलो गन्तव्यका रूपमा लिँदै आएको छ । तिब्बततर्फ निर्यात हुन नपाउँदा नेपाली अर्थतन्त्रमा पनि नकारात्मक असर पर्नेछ । साथै नेपाली व्यापारीहरूले चीनका क्वाङ्चौ, यिवु लगायत सहरबाट नेपालतर्फ सरसामान पठाउने काम रोकिएको छ ।
नेपालको अर्थतन्त्र चीनभन्दा भारतमै बढी निर्भर छ । नेपाल पूर्वतयारीका हिसाबले कमजोर हुनु र भारतसँगको सीमा पनि खुल्ला हुनुले अझ धेरै चिन्ता थपेको छ । दक्षिण एसियामा पहिलो पटक नेपालमा कोरोनाको संक्रमण भेटिएको थियो भने, हाल भारतमा पनि भित्रिएको आशंका छ । खुल्ला सीमाका कारण सहजै कोरोना भाइरस आउन सक्छ । यसले यतापट्टिको व्यापार पनि कालान्तरमा प्रभावित नहोला भन्न सकिन्न । भारत मात्रै होइन, यसै वर्षदेखि चीनसँगको यातायात तथा पारवहन प्रोटोकल कार्यान्वयनको गतिमा पनि धिमापन देखिने छाँटकाँट छ । जनवरी दोस्रो साता काठमाडौंमा वाणिज्य मन्त्रालयले चीनका चार समुद्री बन्दरगाह, तीन सुक्खा बन्दरगाह र छ स्थलनाका प्रयोग गर्न पाउने सहमति कार्यान्वयनमा आएको जनाएको थियो । तर यसको व्यावहारिक कार्यान्वयनको पाटोका लागि तात्नुपर्ने व्यापारिक वर्ग कोरोनाका कारण सेलाउने स्थिति छ । अतः नेपालले कोरोनाजन्य अनेक सम्भाव्य क्षतिबाट बच्न यथोचित कदम चाल्न ढिलो गर्नु हुँदैन ।
कोरोना भाइरस चीनका लागि मात्रै होइन, यसको उचित व्यवस्थापन नभएसम्म विश्वको टाउकोदुखाइ हो । जिम्मेवारीपूर्वक सामेल हुनेरनहुने ती देशहरूको इच्छा होला । तर चीनले आफ्नो नेतृत्वमा इबोला, सार्स लगायत विश्वव्यापी महामारी पार लगाए जस्तै यस पटक कोरोनाविरुद्ध लड्नुपर्ने चुनौती छ । सारा संसारका वैज्ञानिकहरूले मरिमेटेर कोरोना नियन्त्रणको प्रयास गरिरहेका छन्, तर कोरोनामाथि विजयप्राप्ति हेतु कुनै पनि भ्याक्सिन वा औषधीमूलो पत्ता नलागुन्जेल सबै मुलुकले बेहोर्ने भनेको चौतर्फी क्षति नै हो ।
लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ९सीआरआई०, बेइजिङमा कार्यरत छन्।
स्रोतः कान्तिपुर