रंगशाला निर्माणार्थ एकै दिन पाँच करोड संकलन

गुगलपाटी संवाददाता
२५ माघ २०७६ ०८:४३

हेटौंडाः चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा सहयोग रकम जुट्ने क्रम बढ्दै गएको छ। हरेक दिन विभिन्न संघसस्था तथा व्यक्तिले महोत्सवस्थलमै पुगेर सहयोग रकम हस्तान्तरण गरिरहेका छन्। बिहीबार एकैदिन पाँच करोड रुपैयाँ दाताहरूबाट सहयोग रकम संकलन भएको मूल आयोजक समितिका संयोजक एवं सांसद विजय सुवेदीले बताए। सुवेदीका अनुसार दैनिक जसो सहयोगी दाताहरूको संख्या बढिरहेको छ। बिहीबार जिल्ला समन्वय समिति चितवनले दुई करोड २२ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग गरेको छ। यस्तै, पोल्ट्री क्षेत्रबाट एक करोड सहयोग घोषणा भएको मूल आयोजक समितिका सहकोषाध्यक्ष नवराज सापकोटाले बताए। यस्तै, माडी नगरपालिकाले ३० लाख दिने घोषणा गरेको छ। नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले धनधान्याचलमै पुगेर सहयोग रकम उद्घोष गरेका हुन। उद्योग संघले पनि ६५ लाख सहयोग गर्ने घोषणा गरेको छ। जसमध्ये बिहीबार ३५ लाखको चेक दिएका छन। अहिलेसम्म ७ करोडभन्दा बढी रकम संकलन भइसकेको महोत्सव मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले बताए। चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणधीन रंगशाला परिसरमा धनधान्याचल महोत्सव १९ गतेदेखि जारी छ। ५० करोड सहयोग रकम जुटाउने उद्देश्यका साथ जारी महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुने छ। रंगशाला निर्माणका लागि तीन अर्ब लाग्ने बताइएको छ। जसमध्ये कम्तिमा एक अर्ब जिल्लाबाटै उठाउन चितवनबासी एक भएर रकम संकलनमा जुटेका छन्। ३० हजार क्षमताको रंगशाला नेपाली मौलिक पहिचानसहितको दक्षिण एसियाकै नमुना रंगशाला हुने धुर्मुस(सुन्तली फाउण्डेसनले जनाएको छ।
स्रोतः थाहाखबर