छोरी बलात्कारीलाई ३७ वर्ष कैद

गुगलपाटी संवाददाता
६ फाल्गुन २०७६ ०९:३१

 हेटौंडाः छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन आदेश जारी गरेको छ ।
जिल्ला न्यायाधीश दिल्लीरत्‍न श्रेष्ठको सोमबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । २०७५ चैत २ गते १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर उनले बलात्कार गरेका थिए । त्यसपछि किशोरी बारा जिल्लाको कोल्पीमा आफन्तकहाँ गएकी थिइन् । उनले उक्त घटना आफन्तलाई भनेपछि चैत ११ गते बाबुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । किशोरीकी आमा दोस्रो विवाह गरेर अन्यत्र गइन् । घरमा सानीआमा थिइन् । बलात्कारी बाबु क्षेत्रीय कारागार भीमफेदीमा छन् ।
यसैगरी पत्‍नी हत्या आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—१८ का २८ वर्षीय यज्ञराज ९हरि० अधिकारीलाई पत्‍नि मिना अधिकारीको हत्या गरेको आरोपमा थुनामा राख्ने आदेश जारी गरेको हो ।मादक पदार्थ सेवन गरेको सुरमा गत माघ ४ गते राति यज्ञराजले पत्निको हत्या गरेका थिए । उनले घरमा रात पत्निलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

अधिकारीले प्रहरी र अदालतसमक्ष पत्निको हत्या गरेको साविती बयान दिएका छन् । २१ वर्षीया मिनाको साढे तीन वर्षीया छोरी र साढे २ वर्षका छोरा छन् । यी दुई बालबालिका अहिले वृद्ध हजुरबाको संरक्षणमा छन् ।
स्रोतः कान्तिपुर