दक्षिण कोरियामा कोरोना त्रासः २५ लाख व्यक्तिलाई घरभित्र बस्न आग्रह

गुगलपाटी संवाददाता
९ फाल्गुन २०७६ ११:४०

हेटौंडाः दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले प्राणघातक कोरोनाको संक्रमण देखिन थालेको भन्दै नगरक्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्। उनले कोरोनाविरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन्।

दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको डाइगु नगरक्षेत्रमा बिहीवार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो। टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरे।

कोरियाली संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र ९केसीडीसी० ले ३५ जना नयाँ विरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ। उक्त चर्चमा एकजना कोरोना संक्रमित व्यक्ति पनि सहभागी भएका थिए।

केसीडीसीका अधिकारीले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना संक्रमण देखिएको थियो। बुधवार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु संक्रमित भएको जनाएको थियो। तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएका थिए वा अस्पतालमा ती महिलाबाट अरूमा संक्रमण भएको थियो। दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोनाको संक्रमण देखिएको छ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जे–इनले कोरोना भाइरसको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए। कोरोना जीवाणुको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरू सुनसान हुन थालेका छन्।दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बिहीवार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो। संक्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ।

अधिकारीले देशभर झण्डै सय जनामा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने अनुमान गरेका छन्। बिहीवार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन्। उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ विरामीमध्येका व्यक्ति हुन्। उनीहरूलाई सोलदेखि ३२० किलोमिटर टाढापर्ने चेओङडोस्थित अस्पतालमा उपचार गराइएको थियो। भाइरस संक्रमण भएको आशंका गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको छ।

कोरोना भाइरसको संक्रमणबाट चीनभर मृत्यु हुने व्यक्तिको संख्या र्२ हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन्। गत वर्षको अन्त्यमा चीनको हुपई प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या बढे पनि संक्रमितको संख्यामा भने कमी आएको चीनले जनाएको छ। कोरोनाबाट ७४ हजार ५७६ व्यक्ति संक्रमित भएका छन्।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन्। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, यूरोपेली यूनियनसहित विश्वका नेताले पनि यो संक्रमण नियन्त्रणमासघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्रोतः थाहाखबर