महिलाले घन्काउँछन् नौमती

गुगलपाटी संवाददाता
१२ फाल्गुन २०७६ ०५:५४

हेटौंडाः सालझण्डीको दुर्गा मन्दिरमा पूजाआजाका बेला बाजा बजाएर भजन गाउने परम्परा थियो । रमाइलो हुन्थ्यो । तर, बाजा बजाउने अग्रज ‘परियार दाइ’को मृत्युपछि पूजा खल्लो हुन थाल्यो । स्थानीयले बाजाको अभाव महसुस गरे ।
मगर समुदायको बाहुल्य रहेको टोलका क्याप्टेन रनबहादुर रानाले बाजा सिक्ने र बजाउने निधो गरे । यसका लागि आफन्तसँग सल्लाह गरे । व्यक्तिगत एक लाख रुपैयाँ खर्च गरेर एक सेट नौमती बाजा किने । मन्दिरको चौपारीमा सिक्न सुरु गरे । स्थानीय देवबहादुर परियारले सिकाउन थाले । टोलका अन्य साथीलाई समेत सिक्न आग्रह गरे । त्यसपछि महिलाहरू पनि समूहसँग जोडिए । सैनामैना–१० स्थित सालझण्डी नौमती बाजा समूहमा आबद्ध बालमाया श्रीस, तारा राना, रूपा गुरुङ र रूपा थापा ६ वर्षदेखि नौमती बाजा बजाइरहेका छन् ।
माघभरि व्यस्त भए । फागुनलाई पनि निम्तो आइसकेको छ । ‘परियार दाइको मृत्युपछि बाजा बज्न छोडेको थियो,’ समूहकी बालमायाले भनिन्, ‘त्यसपछि सिकेर बजाउन थाल्यौं ।’ परिवारको साथ र हौसलाले बजाउन थालेको उनले बताइन् । सुरुमा झ्याली बजाउन सिकिन् । अहिले सबै बाजा बजाउने गरेको उनले बताइन् । उनीसँगै ताराले पनि बाजा बजाउन सिकेकी छन् । केही बाजा सिकिरहेकी छन् । सासूआमाले बाजा बजाउन साहस थपेको ताराले सुनाइन् ।

पाँच वर्षीया छोरीलाई सासू र श्रीमान्को जिम्मा लगाएर बाजा बजाउन हिँड्ने गरेको उनले बताइन् । ‘पहिले सासूले बजाउनु हुन्थ्यो,’ उनले भनिन्, ‘उमेर ढल्किँदै गएकाले मलाई सिकाउनु भयो ।’ संस्कृति जोगाउनु पर्छ भन्ने सासूको सोचले आफूलाई बाजा समूहमा आबद्ध गराएको उनले बताइन् । उनी समूहमा नाच्न र दमाहा बजाउन पोख्त छन् । ४१ वर्षीया रूपा गुरुङ सानैबाट मादल बजाउँथिन् ।

भारतमा जन्मिएकी उनी दाइले खेल्ने नाटकमा मादल बजाउने भूमिकामा थिइन् । ‘मादल आइहाल्छ, अरु सिकौंला भनेर हिँड्न थालेँ,’ उनले भनिन्, ‘अरू बाजा पनि सजिलै सिकेँ ।’ भारतीय सेनाबाट अवकाश प्राप्त श्रीमान्ले महिलाको यस्तो कामको प्रशंसा गरेपछि सहज भएको उनले बताइन् । यसरी बजाएबापत दिनको १ हजार ५ सय रुपैयाँसम्म कमाइ गर्छिन् । समूहकी रूपा थापाले बाउबाजेले नगरेको काम गर्न मन लागेर सिकेको बताइन् ।

‘सुरुमा कसले के भन्छ भन्नेतिर ध्यानै गएन,’ उनले भनिन्, ‘अहिले प्रशंसा पाइरहेकी छु ।’ छोराछोरीले समेत उनलाई हौसला थपिदिएका छन् । उनीहरूले पुरुषसँगै बाजा बजाएर आम्दानी गरेका छन् । टोली नेता रनबहादुरले सुरुमा महिलाले कसरी सिक्लान् भनेर चिन्ता लागे पनि अहिले सबै जना बाजामा प्रख्यात भएको बताए । चेलीबेटीलाई अघि बढाउँदा समाजले पाठ सिक्ने उनले बताए ।

१२ जनाको समूहमा चार महिला वाद्यवादक छन् । उनीहरूको माग बढेको रनबहादुरले बताए । ‘सिजनमा त फुर्सद नै हुँदैन,’ उनले भने, ‘सिकेर राम्रै गर्‍यौं जस्तो लाग्छ ।’ संस्कृति जोगाउन आफूहरूले योगदान गरेको उनले बताए । जाति विशेषले मात्रै यस्तो गर्नुपर्छ भन्ने छैन । त्यसैले परम्परा तोड्न समूह अघि बढेको उनले बताए । झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी, सहनाई, कर्नल, नरसिंह आदि बाजा उनीहरूले बजाउँछन् । प्रायः दुई दिनका लागि निमन्त्रणा आउँछ । दिनको २५ हजार रुपैयाँका दरले लिने गरेको उनले बताए । ‘बाजा बजाउँदा खुसी भए थपेर पनि रकम दिन्छन्,’ उनले भने, ‘मौलिक भाका र गीत बढी बजाउँछौं ।’
स्रोतः कान्तिपुर