मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई पिसावले च्याप्यो भनेपछि

गुगलपाटी संवाददाता हेटौंडा,१ जेठ
१ जेष्ठ २०७५ ११:४५

रमाईलो स्वभावका भौतिक योजना तथा पुर्वाधार मन्त्री केशव स्थापित सार्वजनिक कार्यक्रमहरुमा पनि ठट्यौली पारामा प्रस्तुत हुन्छन् । मंगलबार बिहान हेटौंडामा सुन्दर नेपाल सरसफाई अभियाले गरेको बधाई तथा सम्मान कार्यक्रममा अन्तिम समयमा मुख्य मन्त्री डोरमणि पौडेल आउन नसक्ने भएपछि स्थापितलाई प्रमुख अतिथिको रुपमा बोलाईएको थियो ।
कार्यक्रमको विषयबस्तु थाह नपाई कार्यक्रममा प्रमुख अतिथि बन्न आईपुगेको भन्दै सम्बोधनको क्रममा उनले मुख्यमन्त्री नआएर कार्यक्रममा ठिकै गरेको बताए । ‘यस्तो गोष्टि, सेमिनार र कार्यक्रम भन्दा काम गर्ने हो’, उनले भने, ‘धन्न मुख्यमन्त्री आउनुभएन नत्र उहाँलाई यो दुई घण्टा के गरौं र कसो गरौं हुनेथियो ।’ ठट्यौली पारामा प्रस्तुत भएका मन्त्री स्थापितले प्रदेशसभा बैठकको तयारीमा ब्यस्त रहेको समयमा कार्यक्रमा आउनुपरेको भन्दै मुख्यमन्त्री आउनुपरेको भए छटपटिएर बस्न नसक्ने बताए । ‘मुख्यमन्त्री ज्यूलाई ल्याएर कार्यक्रममा राखेको भए कहिले यता कहिले उता छटपटाएको देखेर बुढालाई पिसाले च्यापेछकी क्या हो भनेर तपाईहरुले ट्वाईलेट देखाउन बेर थिएन । फोटो खिचेर दिक्क पार्थे ।’ मन्त्री स्थापितले सम्बोधनको क्रममा ठट्टा गरिरँहदा हलभित्र हाँसोको फोहरा छुटेको थियो ।
प्रदेश मुख्य मन्त्री र मन्त्रीलाई बिभिन्न सेमिनार, गोष्टि र उद्घाटनमा बोलाएर योजना निर्माण र विकासको काममा लाग्नुपर्ने समय कटौती नगरिदिन आयोजकहरुलाई आग्रह गर्दै उनले उक्त प्रसंग जोडेका हुन् । मन्त्री स्थापितलेसही योजना नबन्दा देश विकास नभएको बताए । ‘हामीसँगै पर्याप्त पैसा छ तर सही योजना छैन’, उनले भने, ‘अनि कहाँबाट विकास हुन्छ ।’
प्रदेश नम्बर तीनका भूमि ब्यवस्था, सहकारी तथा कृषि मन्त्री दावादोर्जे लामाले प्रदेश तीनलाई सुशासनयुक्त बनाउन भ्रष्टाचारीलाई जेल हालिनुपर्ने बताए । मुलुकलाई भ्रष्टाचारमुक्त बनाएमात्र देशको विकास हुने भन्दै उनले प्रदेश सरकार सुशासनको लागि निकै सचेत रहेको बताए ।
सरसफाईको क्षेत्रमा क्रियाशिल बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको कार्यक्रमा पुर्व सभासद गोविन्दराम चेपाङ, अभियानका कार्यकारी निर्देशक बीरबहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।