एसिया कप खेल्ने नेपालको सपना चकनाचुर, हङकङसँग पराजित

गुगलपाटी संवाददाता
१८ फाल्गुन २०७६ ०७:१८

काठमाडौं : एसीसी इष्टर्न रिजन क्रिकेटमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना सकिएको छ। थाइल्याण्डको बैंककमा भएको खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो। टस हारेको हङकङले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो १५५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १११ रन मात्र बनाउन सक्यो। नेपालका लागि सर्वाधिक रन कप्तान ज्ञानेन्द्र मल्लले बनाए। उनले ४३ बल खेल्दै ४६ रन बनाए। नेपालका लागि ओपनर कुशल मल्लले १९ रन र आरिफ शेखले १० बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। नेपालको इनिङ्स ध्वस्त बनाउन हरुन मोहम्मदले चार तथा अफ्ताब हुसेनले ३ विकेट लिए। त्यस्तै इशान खानले २ विकेट लिए। यस अघि ब्यटिङ गरेको हङकङका लागि निजकान्त खान मोहम्दले ४८ रन बनाए भने मोहम्मद अजिज खानले २९ र सहीद वासिफले २६ रन बनाए। त्यस्तै हरुन मोहम्द अस्रफले २७ तथा जेम्स जोनले १३ रन बनाए। नेपालका लागि सन्दीप लामिछाने र सुसन भारीले समान २ विकेट लिए। कुशल मल्लले एक विकेट लिए। हिजो नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन्। रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।
स्रोतः थाहाखबर