महिला पत्रकारहरुको क्षमता विकास प्रशिक्षण सम्पन्न

गुगलपाटी संवाददाता
२३ फाल्गुन २०७६ १४:२९

हेटौंडा÷ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा बागमती प्रदेशमा कार्यरत् पत्रकार महिलाको क्षमता विकास प्रशिक्षण तालिम सम्पन्न भएको छ ।क्षमता विकास तालिम १९ गतेदेखि सुरु भएको थियो । तालिममा प्रदेशका १३ वटै जिल्लाका ४५ पत्रकार महिलाको सहभागिता थियो । समापन कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले तालिममा सिकेका कुराहरु व्यबहारमा उतार्न आग्रह गरे । पत्रकार महिलालाई अब्बल पत्रकारका रुपमा अगाडि बढ्न उनले सुझाव दिए ।


विभेद र पीडामा परेका समुदायका समाचार लेख्न पनि उनले आग्रह गरे । मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले समाजलाई कता लैजाने भन्ने बाटो पत्रकारकै हातमा हुने हु“दा सकारात्मक समाचार लेख्न अनुरोध गरे । पत्रकारको आवश्यकताअनुसार मन्त्रालयले तालिम व्यबस्था गर्ने पनि उनले जानकारी गराए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश अध्यक्ष्ँ प्रताप बिष्ट, महासचिव कृष्ण सारुमगरलगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा प्रदेश सरकारका विभिन्न मन्त्रालयबारे सम्बन्धित मन्त्रालयका सचिव र प्रवक्ताले जानकारी गराएका थिए । पत्रकार अखण्ड भण्डारी इन्द्रलक्ष्मी घिमिरे, प्रताप बिष्ट, प्रेस रजिष्ट्रार रेवती सापकोटालगायतले सहजीकरण गरेका थिए ।