हेटौंडामा रात परेपछि अटो भाडा दोब्बर

गुगलपाटी संवाददाता
२९ फाल्गुन २०७६ ११:१५

हेटौंडा–२ मानसचोकबाट भीमफेदीका अक्कल बहादुरले बसर्पाक जान अटो रोकेर चालकले सोध्नु भयो, ‘बसपार्क पुगेको भाडा कति, चालकले ५० रुपैयाँ लाग्ने बताउनु भयो ।

अक्कल बहादुरले त्यसमा नचढ्ने बताएपछि फेरि अर्को अटो रोकेर त्यही प्रश्न गर्दा अटो चालकले ५० रुपैयाँ नै लाग्ने उत्तर दिनु भयो । अक्कल बहादुरले फेरि सोध्नु भयो, ‘कति महँगो हो, अरुले ३० रुपैयाँमा पनि लैजान्छन त अटो चालकको उत्तर थियो, ‘जस्ले ३० रुपैयाँमा लान्छ उसकैमा चढ्नु । तपाई १ जना हुनुहुन्छ २ जना भएको भए ८० रुपैयाँमा लैजान्थे ।’

अक्कल बहादुरले अटो छोडेर मयुरीमा जाने निधो गर्नु भयो । मयुरीले ३० रुपैयाँमै लान सहमत भयो । मयुरीमा चढ्दाचढ्दै अक्कल बहादुरले अटोले मनलाग्दी गरेको भन्दै अटोवालाहरुको दादागिरीलाई कस्ले कारबाही गर्छ खोइ भन्दै गुनासो गर्नु भयो ।

बुधवार साँझ हेटौंडा–४ कान्तिराजपथमा बच्चा बोकेर बसिरहनु भएका दम्पतीलाई हेटौंडा–११ थानाभर्याङ जानु थियो । रातो रंगको अटो रोकेर भाडा सोध्नु भयो । अटो चालकले १ जनाको १ सय रुपैयाँ लाग्ने बताएपछि ती दम्पतीहरुको अटो चालकसँग चर्काचर्की नै पर्यो । चालकको भनाई थियो, ‘राप्ति पुलसम्म ५० रुपैयाँ, पुल कटेर थानाभर्याङ गएपछि १ सय रुपैयाँ लाग्छ ।’

हेटौंडाबाट सामरी जान साँझ ६ बजेपछि अटो पाइदैन । स्थानीयलाई बजारको अटोमा जानु पर्दा ५ सय रुपैयाँसम्म तिरेर घर जानुपर्ने बाध्यता छ । ५० रुपैयाँ भाडा लाग्ने ठाउँमा ५ सय रुपैयाँसम्म भाडा तिरेर घर जानु परेको स्थानीय सुरेन्द्र हुमागाईं बताउँनुहुन्छ । अटो चालकहरुले सामरी पुगेर फर्किदा रात पर्ने र यात्रु नपाइने भन्दै चर्को भाडा असुल्ने गरेका छन् । तर, नियमन गर्ने निकाय भने मौन बसेको छ ।
हेटौंडा उपमहानगरभित्र चल्ने अटोले मनपरी ढंगले यात्रु चढाउने, झार्ने, जथाभावी गाडी रोक्ने जस्ता दादागिरी पूर्ण क्रियाकलाप गरिरहेका छन् । यात्रु चढाउने बहानामा अटोहरुले जहाँ पाए त्याँही अटो रोक्ने र पाकिङ गरी राख्ने गरेका छन् । अटोहरुले यात्रु चढाउन र झार्न सडकबीचमै रोक्ने गरेका छन् ।

धेरै अटो गुड्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सडकमा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विष्णुहरि ढकालले बताउनु भयो । उहाँले बढी भाडा असुल्ने, ट्राफिक नियम उल्घंन गर्ने अटो, मयुरीलाई कारबाहीको दायरामा ल्याएको बताउनु भयो ।